हन्डर खाँदै स्थापित भएका हरिमान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तारा पौडेल / पोखरा ।

पितम देउराली अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ मा पर्छ । पोखराबाट करिब ४० किलोमिटरमा पर्ने यस ठाउँलाई प्रितम देउरालीसमेत भनिन्छ । पितम देउरालीलाई विगतमा भिच्चुक देउराली भन्ने गरिएको थियो ।

यहाँ भालुको पित्त जस्तो सानो टापु थियो । करिब २ हजार १ मिटर उचाईमा भएकाले असाध्यै चिसो हुने, पानीको अभाव हुने, मोटर बाटो नपुगेको पितम देउरालीमा ट्रेकिङ रुट बनाउँदा रमणीय भएकाले यसलाई धम्पुसका बासिन्दाले पितम देउराली नाम राखेको पर्यटन व्यवसायी तथा पितम देउरालीका होटल सञ्चालक हरिमान गुरुङ बताउँछन् ।

पितम देउराली अन्नपूर्ण र मर्दी हिमाल आधार शिविर जाने पदमार्गमा पर्छ । आधार शिविर नपुग्ने पर्यटक जो छोटो दूरीमै आनन्द लिन खोज्छन्, उनीहरु यहीसम्म मात्र पुगेर फर्किन्छन् । यो पर्यटकको एउटा गन्तव्य बनेको छ । यहाँबाट मौसम खुलेको समयमा बिहानको सूर्योदयसँगै धौलागिरी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका थुप्रै हिमश्रृङला आँखैअघि देखिन्छन् ।

घान्द्रुक, गुरुङ गाउँ, छोम्रोङ, धम्पुस, धिताल, अस्ताम, सराङकोट, शान्ति स्तूप, फेवाताल लगायतका पर्यटकीय स्थल पनि अवलोकन गर्न सकिन्छ । यो मार्गमा वार्षिक ४० हजार जति आन्तरिक तथा बाह्य पर्यटक हिड्ने गर्दछन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) क्षेत्रमा पर्ने पितम देउरालीलाई पर्यटकको आकर्षक गन्तव्यको रुपमा चिनाउन ६१ वर्षीय पर्यटन व्यवसायी हरिमान गुरुङको योगदान अतुलनीय छ । २०३८ मा पितम देउरालीमा भकारीको छाप्रो बनाएर चिया बेच्न सुरु गरेका उनले एक डेढ वर्षपछि उनले छानो फेरे । खरको छानो बनाएर चिया बेच्न थाले । झण्डै २ घन्टा लगाएर ल्याएको पानीले चिया पकाएर बेच्दा उनलाई त्यति सजिलो थिएन । दुःख नै गरेर भए पनि करिब ७–८ वर्ष उनले यो व्यवसायलाई निरन्तरता दिए ।

सोही समयताका विवाह गरेका उनी केही वर्षपछि व्यवसाय अरुलाई जिम्मा लगाएर विदेश हान्निए । कामको सिलसिलामा हङकङमा ३ वर्ष र अमेरिकामा १ वर्ष बिताए । युकेमा ९ वर्ष काम गरे । यही अवधिमै उनले २० भन्दा बढी देशको भ्रमण गरे । आर्थिक रुपमा स्वावलम्बी बन्नुपर्ने पाठ सिके । देशमै केही गर्छु भन्ने अठोटले २०६५ मा नेपाल फर्किए ।

नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाले विदेशीलाई लोभ्याउने उनले पत्तो पाइसकेका थिए । यही सोचेर उनले होटल व्यवसायलाई निरन्तरता दिए । विदेश जानुअघि भाडामा छोडेको व्यवसाय फेरि आफैंले सम्हाले । तर बाटो, बत्ती, पानी लगायतका विभिन्न समस्या ज्यूका त्यू छँदै थिए ।

व्यवसाय व्यवस्थित तरिकाले चलाउन नाइस भ्यु लज एन्ड रेस्टुरेन्ट दर्ता गरे । हरिमानले खानेपानी संस्थानको सहयोगमा पानीको समस्या त समाधान गरे, तर बाटोको दुःख छँदै थियो । आफूले पक्की भवन बनाउँदा काँडेबाट मान्छे र खच्चडमार्फत सामान ढुवानी गरे । त्यो बेला ढुवानी खर्चले उन ऋण थप्यो । आफ्नो दुःख अरुलाई नहोस् भन्नाका लागि बाटो निर्माणमा कस्सिए ।

उनले बाटो निर्माणको लागि कतैबाट सहयोग र अनुमति पाएनन्् । २०७२/७३ मा माछापुच्छ«े ७ धम्पुसको लेककुनाबाट पितम देउरालीसम्म केही स्थानियको जनश्रमदान, केही पर्यटकको आर्थिक सहयोग र ७५ प्रतिशतभन्दा बढी निजी लगानीमा उनले मोटर बाटो खने । बाटो त बन्यो तर उनलाई उल्टो फसाद पर्‍यो ।

वन अतिक्रमण गरी बाटो खनेको आरोपमा एक्यापले कारवाही ग¥यो । मुद्दा पनि प¥यो । ५ वर्ष कैद र १० लाख जरिवाना तोकियो । उनी १४ दिन जेल पनि बसे । तर उनले पछि सो मुद्दामा सफाइ पाए । हरिमानको पहल र लागतमा बनेको सो बाटोको नाम नै हरिमान मार्ग राखिएको छ ।

आफ्नै खर्चमा गाउँ जाने बाटो खन्दा जेल परेका हरिमान अहिले पितम देउरालीका अगुवा व्यवसायी बनेका छन् ।

पानी, बत्ति, बाटो, इन्टरनेट लगायतका सुविधा विस्तार भएपछि मात्र व्यवसायमा हौसला मिलेको बताउँछन्, उनी । पैदल हिड्न नसक्ने तर छोटो समयमा धेरै ठाउँको दृश्यावलोकन गरी आनन्द लिने पर्यटकका लागि पितम देउरालीसम्म पुगेको मोटर बाटो छ । सो ठाउँम उनी गो टु दिस वे, ब्याक टु दिस वे भनेर बोर्ड नै राख्ने सोचमा छन् ।

झण्डै साढे २ रोपनीमा फैलिएको प्रशस्त पार्किङको सुविधा भएको उनको लजमा अर्गानिक नेपाली खानासहित बस्नको व्यवस्था छ । सुविधा सम्पन्न १८ कोठा छन् । सिजनमा सबै कोठा भरिभराउ हुन्छन् । नियमित ५ जना र सिजनमा पार्ट टाइमका थप १५ जनाले रोजगारी पाउँछन् । आधार शिविर जाने पर्यटक खान, बस्नमात्र उनको लजमा पुग्दैनन् । केही बेर आराम मात्र गरेर हिड्ने पनि उत्तिकै हुन्छन् ।

अहिले यो क्षेत्रमा अरु व्यवसायी पनि थपिएका छन् । कतिपय व्यवसायीले एक्यापभित्र पर्ने वन क्षेत्रमा संरचना बनाएका छन् । तर यो विषयमा कोही कसैले आवाज नउठाएको भन्ने उनको गुनासो छ । ‘हिजोको दिनमा मैले व्यक्तिगत लगानीमा बाटो ल्याउदा वन क्षेत्र अतिक्रमण भो भनेर मलाई कारवाही गर्ने संस्थाले वन अतिक्रमण गरी व्यवसाय गर्दा पनि आवाज उठाउँदैनन । कानुन त सबैलाई लाग्नुपर्ने हो नि ?,’ उनी प्रश्न गर्छन् । विकास गर्नेलाई निरुत्साहित र अतिक्रमण गर्नेलाई प्रोत्साहन गर्नु विडम्बनापूर्ण भएको उनी बताउँछन् ।

एक्याप घान्दु्रक शाखाका निमित्त कार्यालय प्रमुख भीम उपाध्यायले विना अनुमति सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी सञ्चालन गरिएका व्यवसाय रोक्नका लागि कानुनी प्रक्रिया भइरहेको बताए । उनले भने, ‘साबिकको लुम्ले गाविसमा पर्ने सो ठाउँका गतिविधि लुम्ले वन संरक्षण क्षेत्र व्यवस्थापन समितिले हेर्ने गरेको छ । अनियमित गतिविधि थाहा पाउनासाथ काम रोक्न समितिले सचेत गराउँछ । कतिपयले आफ्ना गतिविधि नरोकेमा एक्यापको समन्वयमा कानुनी प्रक्रिया अनुसार नै रोक्ने काम हुन्छ र भइराखेको पनि छ ।’

एक्यापले पर्यटन व्यवसायीलाई दुःख दिने गरेको पर्यटन व्यवसायी हरिमानको आरोप छ । उनले पहिल्यैदेखि वन, जंगल, चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षण गर्ने काम आफूहरुले पनि गर्दै आएको जनाए । अहिले एउटा संरक्षण आयोजनाको नाम लिएर काम गरेको संस्थाले आफूलाई मात्र फाइदा हुने काम गरेको हरिमानको दाबी छ । जुन उद्देश्यले आयोजना सञ्चालन गरिएको छ, त्यो उद्देश्य अनुरुप आयोजनाले काम नगरेको उनको आरोप छ ।

‘आयोजना यस क्षेत्रको खानेपानी, बाटो विस्तार र अन्य सूचना सामग्री राख्नका लागि भनिएको थियो तर भने जति काम भएको छैन । पर्यटकबाट २ हजार रुपैयाँ उठाएर उल्टै शोषण गर्ने र पर्यटक घटाउने काम भएको छ । यस विषयमा कसैले पनि कुरा नउठाएको देख्दा मलाई आश्चर्य लाग्छ,’ उनी भन्छन्, ‘हामीले होटलमा चाहे अनुसारको सेवा, सुविधा थप्न एक्याप बाधक बनेको छ ।’

व्यवसायीले आफनो ठाउँबाट लगानी थपिरहेको बताउँदै उनले पर्यटन विकासका लागि गठित सरकारी निकाय एवं सरोकारवालाले त्यसलाई सम्बोधन गरी व्यवसायीलाई उत्साहित नगरेको उनको ठम्याइ छ । ‘देशमा केही गर्छु भन्नेलाई राज्यले पनि साथ र सहयोग गरोस्,’ उनी भन्छन् ।

अहिले वार्षिक २० लाख रुपैयाँ बचत हुने उनी बताउँछन् । कुनै निकायबाट कुनै बाधा, अवरोध नभए व्यवसाय बढाउँदै वार्षिक ५० लाख रुपैयाँ बचत गर्ने उनको लक्ष्य छ ।

समाधानन्यूजबाट साभार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्