विमान दुर्घटना:’उता विमानमा आगाे बलिरह्याे,यता मेराे मन जलिरह्याे’

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
माघ १ गते अर्थात माघे संक्रान्ति पर्व । नेपालीहरुको चाड पर्व मध्यको एक पर्व । विशेष गरी मगर,थारु लगायतका जातीहरुको पर्व । हुन त यो पर्वमा हरेक नेपालीहरु रम्ने गर्दछन् । आफ्ना परिवार संग मिठो परिकार बनाएर खाने पर्व । म पनि यहि पर्वको लागि आफ्नो घर पोखरा आएको थिए । त्यो दिन बिहानै देखि फेस्टिभ भाइव्स थियो । घर परिवार मिठाष्न परिकार जोहो गर्दे थिए। घर टोल समाजमा नै एक किसिमको चाडपर्वको माहोल थियो । सोहि दिन देशको लागि नयाँ सभामुख पदको निर्वाचनको माहोलले एक किसिमको एक्साइटमेन्ट थिए ।

पोखरा आएको समय अक्सर म कुनै न कुनै कार्यक्रमहरुमा सहभागिताको लागि निम्तो आउँछ । माघ १ गतेको दिन पनि विहानै योग दिवसको अवसरमा भद्रकाली मन्दिरको प्राङ्ण माछा पोखरी स्थित मैदानमा आयोजित कार्यक्रममा सहभागिता जनाएर प्यारो भाई सन्जिव बाँस्तोला र प्रिय मित्र नारायण थापा संग देश र समाजको विकास बारे मिठो गफगाफमा थियौ ।

एकछिनमा मेरो पिए संगीत श्रेष्ठ पनि आइपुग्यो । लगभग त्यस बेला बिहानको १०ः३५ बजेको थियो । गफिदै जाँदा घर परिवारका अन्य सदस्यहरु पनि सँगै थियौ । चाडको समय घरमा परिवारसँगै खाना खाने चाजोपाँँजो थियो । अब खाना खाँउ आउनु भन्दै भित्रबाट मेरो श्रीमतीले आवाज दिइन् ।

घरको मुलीले खापछि अन्य सदस्यले खाने चलन छ हाम्रोमा । खाना खानभित्र पस्ने बेला भद्रकाली मन्दिर नजिक मेरो घर माथिको आकाशमा जहाजको बाटो पर्देन । तर त्यो दिन जहाज हाम्रो घर माथिको आकाश माथि आएको बाबाले पनि देख्नु भएको रहेछ । कहिले यो रुट नआउने ठुलो जहाज किन आएछ भन्ने बाबालाई पनि लागेको रहेछ ।
बाबा आमाले खाना खाई सके पछि हाम्रो घरका अन्य सदस्य पनि खाना खान भित्र पस्यौ ।

खाना खान के शुरु गरेको थिए, वडा नं.१० का वडा सदस्य मेरो मित्र पुर्ण चन्द्र न्यौपानेले फोन गर्नुभयो । उहाँको आवाज अन्य बेलाको जस्तो थिएन । आतिएको जस्तो स्वरमा उहाँले फोन गर्नुभएको थियो । के भयो भनेर सोधे । उनले भने यति एयरको जहाज सीताराम प्लटिङ्ग नजिक दुर्घटना भयो रे । बाबाले अघि घरको आकाश माथि कहिले नआउने जहाज आएको देख्नु र साथीले दुर्घटनाको खबर सुनाउनुले एकछिन म पनि होस हराएको जस्तो भए । साथी पुर्णले फोन म त कहाँ छस भन्दै आत्तिएर फोनमा कराउँदै थियो ।

दुर्घटना भएको बस्तितिर मेरो आफन्तहरु पनि छन् । झल्यास उनीहरुको याद आयो । अनि मैले मेरो जेठान कर्ण दास दाईलाई फोन गरेर सोधे -´दाइ जहाज दुर्घटना भयो रे के हो ?` उहाँले आत्तिएको स्वरमा ठुलो आँगोको मुस्लो उडेका छ बाबु भनेपछि झन मनमा डर पैदा भयो । दुर्घटना भएको यति एयरको ठुलो एटिआर ७२ सिटे जहाज रहेछ । कर्ण दाईलाई यतिको ठुलो जहाज छ भन्ने नै थाहा रहेनछ ।

फोनमा कुरा हुदाँ हुदै दाइ पनि दुर्घटना स्थल लिर लाग्नुभयो । म पनि ढिला नगरी मेरो पिए संगित श्रेष्ठलाई बोलाएर दुर्घटना स्थलतिर लाग्यौ, दुर्घटना स्थलमा म छिटो पुगरे हुने वाला त केहि पनि थिएन तर पनि प्रतिनिधि सभा सदस्य भएकोले त्यहाँ केहि कुरालाई छिटो छरितो गर्न निर्देशन दिन सक्छु भन्ने लागेर अमरसिंह पेन्सेन क्याम्पको पछाडिबाट छोटो बाटो गयौ ।

छोटो बाटो जादाँ पनि त्यहाँ मान्छेको भिड निकै बढि सकेको रहेछ । सडक भिड भएको कारण एम्बुलेन्स दमकल लगायतका इर्मेजेन्सीको लागि जाने साधनलाई बाटो थिएन । त्यो भिडमा एम्बुलेन्स रोकिएको थियो । दमकललाई जाने बाटो अबरुद्ध भएको थियो । त्यो दृश्यमा म मुक दर्शक भएर बसे ।

दुर्घटना स्थलबाट जहाजमा लागेको आगोले मौसम धुमिल भएको थियाे । मान्छेको डढेको गन्ध परसम्म आएको थियो । भिड छिचोल्दै दुर्घटना स्थलमा पुग्दा नेपाल प्रहरी,आर्मी,शस्सत्र र त्यहाँ स्थानीयहरुले दुर्घटना भएको ठाउँमा उद्धारमा खटिसकेको रहेछ ।

साँघुरो बाटो नजिक भिरमा जहाज दनदनी बलिरहेको थियो । त्यत्रो आगोको मुस्लोमा जलि रहेका जहाज यात्रीहरुलाई हेरेर उनीहरुको सकुसल उद्धार होस भनेर भगवानसंग प्रार्थना गर्नुको विकल्प रहेन ।

दुर्घटना स्थलमा उद्धार गर्नेले पनि सक्ने अवस्था पनि थिएन । आगो बलि नै रह्यो । आगोसँगै मेरो मन पनि जलिरहेको आवास भयो । त्यो कहाली लाग्दो दृश्य देख्दै गर्दा उनीहरुको उद्धार गर्न नसक्नुको पीडाले मन भारी भयो । चाडपर्वको बेला आफ्नो परिवारसंग रमाउने समय आगोमा जलेर देह त्याग गर्नु पर्यो जहाज यात्रीहरुले । कस्तो विडम्वना । आखाँमा पिलपिल आँशु बग्यो । त्यो एक छिन त त्यहाँ सबै तिर कालो बादलले ढाकेको जस्तो महसुस गरे । केहि देखिन । एकछिनमा आखाँ खोल्दा मान्छेको भिड बढि सकेको थियो । सबैले त्यो कालो दिनलाई आफ्नो मोवाइलमा कैद गर्दे थिए ।

भिडमा भएका मानिसहरुले चाहेर पनि सहयोग गर्ने अवस्था थिएन । तर उनीहरुले उद्धारमा खटिएकालाई पनि अप्ठाएरो पर्ने गरि मोवाइल तेर्साउदा भने किन यस्तो असभ्य भएका छौ हामी भन्ने लाग्यो ।

त्यो भिडमा मलाई माननिय प्रतिनिधि सभा सदस्य भनेर कसैले चिनेन र मैले पनि चिनाउन आवश्यक ठानिन । सायद मलाई चिनेको भए त्यहाँ उद्धारमा खटिएकाहरुले मेले लगाएर काम गर्थे कि भन्ने हो । तर उहाँहरुले सक्ने उद्धारको काममा खटिरहनुभएको थियो । केहि समय पछि दुर्घटना स्थलका जाने बाटोमा अवरोध भएका पर्खालहरुलाई भत्काएर केमिकल लिएर आएको सवारी साधनले निभाउने प्रयास गरे पछि मन अलि हल्का भयो ।

उक्त केमिकलको फोहोराले आगो केहि मत्थर भयो र उद्धारमा खटिएका प्रहरीहरु कसैलाई जिवित उद्धार गर्न सकिन्छ कि भनेर भीरको बाटो हुदै तल झरे तर कसैको जिवित उद्धार हुन सकेन ।

जिवितै उद्धार नभए पनि मृत शरीर ल्याउन आवश्यक सामाग्रीहरुको सामान्य प्लाष्टिकको झोला समेत थिएन् । त्यही नजिकै वरपर छरिएर रहेको सिमेन्टको बोरा र दुई चारवटा स्टेचर कपडाका साधनबाट मृत शरिर निकालेको दृश्य टुलु टुलु हेर्दे बसे । त्यो देख्दा देशको उपल्लो निकाय प्रतिनिधि सभा सदस्य हुँ । भन्दा पनि लज्जा बोध भयो । त्यो दृश्य मेरो आखाँ अहिले पनि झल्लझली आईरहेको छ । त्यो कालो बादल मानव जगतमा कसैलाई कहिले पनि नपरोस । त्यो नेपालको डोमिस्टिक जहाज दुर्घटनाको सबै भन्दा ठुलो मानविय क्षति थियो । जहाँ ७२ जनाले अन दि स्पट ज्यान गुमाउन पुग्यो ।

करिव दुई घण्टा त्यो नमिठो घटनाको साक्षी भएर भाई संगित श्रेष्ठ र त्यही भेटिनुभएका दिपक न्यौपानेसँगै त्यहाँबाट निस्क्यौ । त्यति बेला सम्म त्यहाँ भिड अत्याधिक भइ सकेको थियो । स्कुटरको पछाडी बसेर मन मनै मेरो देशमा यस्ता दुर्घटना हुदाँ आवश्यक पर्ने अत्यावश्यक सामाग्री अभाव हुदाँ मेरो मनमा धेरै प्रश्नहरुले घेरिएको छ ।
पोखरा महानगरपालिका वडा नं.१४ का अध्यक्ष बोधराज कार्कीलाई पनि त्यहाँ आतिएको अवस्थामा देखेको थिए ।
नेपाली आकाशको त्यो कालो दृश्यलाई आखाँले कैद गर्दे पोखरा विज्ञान प्रतिष्ठान तिर आए ।

वरिपरि एम्वुलेन्सका साइरनहरु बजिरहका थिए । अस्पतालमा भित्र कोही जिवितै उद्धारको लागि ल्याएछन् कि भनेर हेरे तर कोही जिवित ल्याएको छैन रहेछ । त्यसपछि शवगृहतिर आफ्ना पाइला सारे त्यहाँ पनि मृतकका आफन्त साथीभाईहरुको भिडभाड भइ सकेको थियो । भिडमा रहेका सबै जना भावविव्हल थिए । सबै जनाका आखाँमा आसु रसाएको प्रष्ट देख्न सकिन्थ्यो ।

दुर्घटनामा डाक्टर,इन्जिनियर,पत्रकार,पाइलट,बालबालिका लगायतका मानिसहरु परेका थिए । अस्पतालको त्यो परिसरमा रुवाबासी चलेको थियो । यो घटनाले सिङ्गो देशलाई ठुलो क्षति भयो । त्यो घटनाले मलाई धेरै ठुलो पाठ सिकायो पनि । नेपालमा रोजगारी,शिक्षा स्वास्थ्यका कुराको मात्र अभाव हैन रैछ ।

हामीलाई आवश्यक पर्ने स-साना कुराहरुको पनि धेरै आवश्यकता पुरा गर्न पर्ने रहेछ । यस्ता आवश्यकता पुरा गर्न जुन सुकै पार्टी दलको भए पनि एक भएर लाग्नु पर्ने देखियो । हामी नेता भयो भने ठुल्ठुला गफ चुट्छाैं तर साना साना कुराहरु हाम्रो देशमा अभाव रहेछ त्यता हाम्रो नजर नै गएको रहेनछ । अव सबै एक भएर बोल्नु पर्ने र गर्नुपर्ने आवश्यकता देखियो ।

अबका दिनहरुमा त्यो कालो दिन कहिले नओस । राजनीति पाटोमा भए पनि नभए पनि देश र समाज बनाउने मेरो इच्छा निरन्तर रहिरहने छ । २०७९ माघी संकान्तिको त्यो चाडवाड मनाउने त्यो मेरो र उनीहरु*****को अधुरो नै रह्यो । सम्पुर्ण मृत आत्माको बैकुण्ठमा बास होस ।
प्रतिनिधि सभा सदस्य
शिव नेपाली
राष्ट्रिय स्वतन्त्र पार्टी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्