फर्निचर तथा फर्निसिङ व्यवसाय वैधानिक रुपमा सञ्चालन गर्न व्यवसायीलाई संघको आव्हान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । फर्निचर तथा फर्निसिङ व्यवसाय संघ, कास्कीले पोखरा महानगरपालिका भित्रका फर्निचर तथा फर्निसिङ व्यवसाय बैधानिक तवरले सञ्चालन गर्न व्यसायीलाई आव्हान गरेको छ ।

संघले व्यवसायको दर्ता तथा नविकरण र व्यवस्थित रुपमा सञ्चालनको निगरानी तथा अनुगमन गर्न पोखरा महानगरपालिका र महानगरका ३३ वटै वडामा ज्ञापन पत्र बुझाउने अभियान सुरु गरेको छ।

आईतवार संघका प्रतिनिधिले महानगरको वडा नम्वर १ का अध्यक्ष साहारा प्रधान , वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग र वडा नम्बर ५ का अध्यक्ष बिष्णु बराललाई कार्यकक्षमा भेटी ज्ञापन पत्र बुझाएका हुन् ।

संघले महानगर भित्र जे जति व्यवसायी सञ्चालित छन ती सबै दर्ता गरि कानुनको दायरामा ल्याउने अभियानको रूपमा सुरुवात गरेको जनाएको छ ।

गण्डकी प्रदेश सचिव हिरामणी पण्डितले व्यवसाय दर्ता नगरी संचालन हुदा राज्यको आम्दानीमा कमी हुने बताए । कानुनी प्रक्रिया पूरा गरि सञ्चालन गरे राज्य पनि जिम्मेवार हुने र राज्यप्रति पनि जिम्मेवार भइने बताए ।

वडा नं १ का अध्यक्ष साहारा प्रधानले फर्निचर तथा फर्निसिङ व्यवसायी मात्र नभइ छिटै नै सबै प्रकृति व्यवसायीलाई कानुनी प्रक्रियामा आउन आव्हान गर्ने र नआए अनुगमन समिती गठन गरि आवश्यक कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वडा नं २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले आफुहरुले व्यवसायलाई कानुनी दायरामा ल्याउने प्रयत्न केही समय अघि नै सुरु गरेको भन्दै बिशेष गरी डेंगु रोग फैलने माध्यम भएको भन्दै अटोवर्कसपलाई बढी निगरानी गरेको बताए । करको दायारा फराकिलो बनाउन र वडामा दर्ता गर्न वडा सधैँ सकारात्मक रहेको उनकाे भनाई छ ।

यस्तै वडा नं ५ का अध्यक्ष बिष्णु बरालले वडाले व्यवसाय मात्र नभई वडामा कुकुर पाल्न पनि दर्ता गर्नुपर्ने व्यवस्था गरेकाे बताए । फर्निचर तथा फर्निसिङ मात्र नभई कहि कतै त्यस्ता व्यवसाय सञ्चालनमा भए उजुरी र खबरका आधारमा अनुगमन गरी कानुनी प्रक्रियामा ल्याउने बताए ।

पहिलो चरणमा सबै (१-३३) वडा कार्यालयमा ज्ञापन पत्र बुझाइ सबै फर्निचर तथा फर्निसिङ व्यवसायीलाई राज्य प्रति उत्तरदायी बनाउने लक्ष्य लिएको संघले दोस्रो चरणमा जिल्लामा सञ्चालनमा भएका सबै फर्निचर तथा फर्निसिङ व्यवसायको अनुगमन गर्ने जनाएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा कास्की जिल्ला अध्यक्ष पूर्ण शोभा गुरुङ, प्रथम उपाध्यक्ष रामजी प्रसाद तिवारी , द्वितीय उपाध्यक्ष वेलबहादुर नेपाली, महासचिव परमेश्वर दवाडी , कार्यसमिती सदस्य भेष राज वास्तोला , क्षेत्रीय सदस्य नवराज सुवेदी लगायत उपस्थित भएका थिए ।

फर्निचर तथा फर्निसिङ व्यवसाय संघ कास्कीको मिति २०७९/०७/१७ गतेको पत्रबाट व्यवसाय दर्ता गरि वैधानिक रुपमा सञ्चालनमा ल्याउन आवश्यक सहजीकरणको माग गरेको थियो ।

उक्त पत्र कार्यान्वयन गर्न सम्बन्धित निकाय र पोखरा महानगरपालिकाको आर्थिक ऐन, २०७९ बमोजिम महानगरपालिकामा दर्ता तथा नविकरण गरी व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन सबै वडाहरुलाई पोखरा महानगरपालिका नगर कार्यपालिकाले मिति २०७९/१०/१६ पत्र काटी पुन:ताकेता गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्