डिभिजन वन कार्यालय कास्कीद्धारा नि:शुल्क विरुवा वितरण शुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तारा पौडेल/पोखरा ।
‘नेपालमा शहरीकरण बढ्यो । गाउँघरका जग्गा त्यतिकै बाँझा छन् । त्यसमा बिरुवा लगेर रोप्दा हरियाली बढेको छ । वातावरण सफा भएको छ । गाईभैंसीलाई घाँस पनि भएको छ । वन कार्यालयले गरेको नि:शुल्क विरुवा वितरण कार्यक्रम प्रभावकारी र प्रशंसायोग्य छ ।’ डिभिजन वन कार्यालय कास्कीले नि:शुल्क वितरण गरेको विरुवा लिएका पोखरा १६ जोगिमिरेका रामबहादुर गुरुङको प्रतिक्रिया हो यो ।

शुक्रवार विहान १० वज्नुअगावै महेन्द्रगुफाको नर्सरीमा लाईनमा बसेका उनले आफूले चाहे अनुसारका निम, कोईराला, धुपी, लप्सी लगायतका विरुवा पाएपछि खुसि हुदै वन कार्यालयलाई धन्यवाद दिदै निस्केका थिए । विगतका वर्षहरुमा पनि वन कार्यालयबाट विरुवा लगेर रोपेका उनले विरुवा मरेको ठाउँमा पुन रोप्नको लागि शुक्रवार विरुवा लिएको बताए ।

उनी जस्तै माछापुच्छ्रे २ भुज्रुङखोलाका बाख्रापालन व्यवसायी वसन्त तामाङ, घाचोकका बाख्रापालन व्यवसायी मिलन घर्ती क्षेत्री, बाख्रापालन व्यवसायी जीवन नेपाली, बाटुलेचौरका ज्ञानबहादुर गुरुङ लगायतले वन कार्यालयले गर्ने नि:शुल्क विरुवा वितरण कार्यक्रम सह्रानिय भएको भन्दै प्रशंसा गरे । उनीहरुले विरुवा रोप्नाले वातावरण जोगाउनका साथै घाँस पनि हुने र बाढीपहिरो रोकथाम लागि सहयोग पुग्ने बताए ।

डिभिजन वन कार्यालय कास्कीले वर्षेनी नि:शुल्क रुपमा विरुवा वितरण गर्दै आएको कार्यक्रम यो वर्ष शुक्रवारदेखि शुरु गरेको हो । यो वर्ष कार्यालयले १ लाख ४२ हजारको संख्यामा विरुवा उत्पादन गरेको छ ।

जसमा काठजन्य, डालेघाँस, सौन्दर्यवद्र्धक विरुवा ५६ हजार ४ सय २, जडिबुटिका २८ हजार ७ सय ३८, रोडसाइड प्लान्टेशनको लागि बहुवर्षीय विरुवा २१ हजार ८ सय ५०, मुग्लिङ पोखरा सडक खण्ड कार्यालयको सहयोगमा २० हजार, रुपाताल संरक्षण विकास परियोजनाको सहयोगमा १५ हजार बिरुवा उत्पादन गरेको डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत केदार बरालले बताए ।

विरुवा उत्पादनका लागि कार्यालयले महेन्द्रगुफा, वगर कार्यालय परिसर, वन क्याम्पस, कुंडहर सव डिभिजन र लेखनाथ सव डिभिजनको खुदीमा गरी ५ वटा डिभिजन वन नर्सरी सञ्चालन गरेको छ ।

यी नर्सरीहरुबाट अमला, कुरिलो, विरेन्द्रफल, बकाइनो, टाँकी, कोइरालो, अम्बा, भटमासे, हर्रो, बर्रो, अमला, धूपी, निम राईखनियो, कुरिलो, अमला, किम्बु, भट्टमासे, बडहर, चिउरी, टिकुमा फूल, इपिल, गलमोहर, कलकी, पैयुँ, रुद्राक्ष, बांस, करिपत्ता पारिजात, बेल, म्यानगोस्टिक, लगायतका विरुवाहरु पाउन सकिन्छ । नि:शुल्क रुपमा प्राप्त गरिने विरुवाहरु संघसस्था, समुह, शैक्षिक क्षेत्र तथा व्यक्तिहरुले लैजान सक्नेछन् ।

वन अधिकृत केदार वरालले भने–‘पहिलो प्रायोरिटी सामुदायिक वनलाई दिन्छौं । त्यसपछि व्यवसायिक हिसावले जसले फर्म सञ्चालन गर्नुहुन्छ, उहाँहरुलाई पनि प्राथमिकता दिन्छौं । यसका साथै कोही व्यक्तिगत रुपमा विरुवा लिन आउनुहुन्छ भने पनि विरुवा दिने गरेका छौं भने उहाँहरुको रेकर्ड राखेर सम्पर्क नम्वर लिएर अनुगमन पनि गर्छौ । हाम्रो विगतका वर्षहरुको अनुभव हेर्दा स्थानिय स्तरमा बढि डिमाण्ड भनेको डाँले घाँसको छ ।’

त्यस्तै कार्यालयका सहायक वन अधिकृत गोविन्दबहादुर थापाले विरुवा लिन आउने व्यवसायीहरुलाई नाङ्गा डाडाहरुमा दिर्घकालीन योजना बनाएर रुख रोप्नुका साथै निजी जग्गामा पनि रुख रोप्न आग्रह गरे । उनले महेन्द्रगुफा नर्सरीमा यो वर्ष ३५ हजार विरुवा उत्पादन गरिएको जानकारी दिए । जसमा जडिबुटीजन्य बिरुवा १० हजार,डालेघाँस २० हजार र शहरी वृक्षारोपणको लागि बहुवर्षीय विरुवा रुदराक्ष,गुलमोहर जाकाराण्डा, पैयुँ, वेल लगायतका ५ हजार विरुवा  रहेको बताए । उनले विरुवा नसकिएसम्म वितरण कार्य जारी रहने बताए । सहायक वन अधिकृत थापाले शुक्रवार उद्घाटनको दिनमा नै १० हजार भन्दा बढी विरुवा वितरण गरेको जानकारी दिए ।

प्रदेश र संघीय सरकारको आर्थिक सहयोगमा वन कार्यालयले नि:शुल्क रुपमा वितरण गर्ने विरुवा उत्पादन गर्ने गर्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्