अधिकांश ट्याक्सी चल्दैनन् मिटरमा,यातायातका प्रमुख रिज्यालकाे मिडियासँग गैरजिम्मेवार प्रस्तुति

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि प्रदेशभित्रका ट्याक्सीहरु अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम पालना गर्न कडाइ गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटरमा चल्न अनिवार्य गरेको हो ।

कार्यालयले साउन ३० गतेदेखि अनिवार्य रुपमा विलिङसहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिलअनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो ।

सोही सूचना अनुसार यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिज्यालले भदौ १ गतेदेखि छिटफूट बाहेक अधिंकाश ट्याक्सीहरु मिटरमा चल्न थालेको सुनाए । उनका अनुसार भदौ १ गतेदेखि ११ गतेसम्म १५ वटा ट्याक्सीलाई मात्र कारबाही भएको जनाए । उनले सुरुआती चरणमा सचेत गराउने उद्देश्य रहेको हुनाले न्यूनतम २ हजार रुपैयाँमात्र जरिवाना गरिएको जानकारी दिए । उनले यसबाट कति राजश्व संकलन भयाे भनेर जिज्ञासा राख्दा लिखित सूचना माग विना सूचना दिन इन्कार गरे । रिज्यालले कार्यालयका सूचना अधिकारीले पनि लिखित सूचना माग नगरि कुनै पनि जानकारी/सूचना नदिने प्रतिकृया दिए ।

यता ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायब निरीक्षक तथा सूचना अधिकारी शिवप्रसाद पाठकले जाँच तथा अनुगमनकै क्रममा भदौ १ गतेदेखि ११ गतेसम्म ४३ वटा ट्याक्सी कारबाहीमा परेको बताए । उनले मिटरमा ट्याक्सी नचलाउनेलाई न्यूनतम २ हजार १ सय र अवस्थाअनुसार २ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिएको बताए ।

वरिष्ठ प्रनानि पाठकले ११ गतेसम्म्म यातायात कार्यालयमा १७ वटाले जरिवाना तिरिसकेको जानकारी दिए । उनकाअनुसार जरिवानाबाट भदाै ११ गतेसम्म ३८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

कारवाहीमा परेका ट्याक्सीकाे जरिवाना शुल्ककाे विषयमा कुरा गर्दा यातायात कार्यालयका प्रमुख रिज्यालले जरिवाना तिर्न आउदा ‘नियमकानुन थाहा पाईन् ‘, ‘भुलवश गल्ती गरे’ भन्ने सिदासादा चालकलाई कम जरिवाना र नियमकानुन थाहा भएर पनि अटेरी गरेको आफूहरुलाई लागेमा सिमासम्मको जरिवाना तिराउने बताए ।

तपाईले ट्याक्सी मिटरमा अनिवार्य चलाउनुपर्छ भनेर कार्यक्रम नै राखेर सबैतिर जानकारी गराएका छौं पनि भन्नुहुन्छ अनि कारवाहीमा परेका ट्याक्सी व्यसायीले मैले नियम बुझिन, थाहा पाईन्, भन्न मिल्छ र भन्ने प्रश्नमा रिज्यालले कार्यक्रममा समितिका प्रमुखहरु मात्र आए, त्यो सर्कुलर भयो कि भएन? सञ्चार गयो कि गएन? अनि त्यो सूचना/सञ्चार जरिवानामा परेको ट्याक्सीले नपाएको हुन सक्छ अनि तैले किन थाहा पाईनस भनेर हुन्छ ? भन्दै चर्किए ।

यति मात्र हैन उनले क्रस काेईसन गर्न खाेज्दा मेराे कुरा नसुन्ने भए यहाँ ( निजकाे कार्यकक्ष) बाट निस्किहाल्नुस भनेर धम्कीपूर्ण शैलीमा प्रस्तुत भए ।

यस्तो खालको उनको तर्कबाट ट्याक्सी चढ्ने यात्रु मात्र हैनन् सूचना थाहा नपाउने ट्याक्सी व्यवसायी समेत अनावश्यक जरिवाना तिरेर ठगिएका छन् ।

अनिवार्य रुपमा ट्याक्सी मिटरमा चलाउनुपर्छ भन्ने सूचना थाहा नपाएर कारवाहीमा परेमा कम जरिवाना दिए पुग्छ भने ट्याक्सीहरु अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम पालना गर्न कडाई गर्नको लागि प्रदेशभरिका ट्याक्सी व्यवसायी/चालकलाई अनिवार्य रुपमा ट्याक्सी मिटरमा चलाउनुपर्छ भनेर सूचना दिने/ जानकारी दिने जिम्मेवार निकाय कुन हो ? कि उनीहरुले कारवाहीमा परेपछि मात्र सूचना थाहा पाउने हुन ? यसको जवाफ खोज्नु आवश्यक छ ।

रिज्यालले आागामी दिनमा यो जरिवाना दर १० हजार रुपैयाँसम्म गर्न सकिने समेत बताए । उनले अनियमित रुपमा कारबाही बढ्दै गयो भने मिटर जडान नगर्ने ट्याक्सीलाई यातायात व्यवस्था विभागको ऐनले थेग्न नसके स्टान्डर्ड नापतौल ऐन २०२५ अनुसार २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने समेत उल्लेख गरे ।

कार्यालय प्रमुख रिज्यालले मिटरमा ट्याक्सी चले नचलेको अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको र अनुगमन समितिले ठाउँठाउँमा अनुगमन गरिरहने बताए ।

उनले मिटरमा ट्याक्सी अनिवार्य रुपमा चल्नुपर्छ भन्ने जानकारी सबैले लिन तथा मिटर जडित ट्याक्सीमा मिटरले बिलिङ सहितको भाडा जति आउँछ त्योमात्र तिरेर हिँड्नु सबै यात्रुहरुमा अनुरोध गरेका छन् । मिटरमा हिँड्न नमाने वा उठेको भाडा भन्दा बढी लिन खोजेमा यातायात व्यवस्था कार्यालय, ट्राफिक कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा १०३ मा फाेन गरेर उजुर गर्नसमेत उनको आग्रह छ ।

काेही जानाजान काेही अञ्जानमै ठगिन्छन् यात्रु

नियमनकारी निकायले अनिवार्य रुपमा मिटरमा ट्याक्सी सञ्चालन भएको छ भनेर दावी गरे पनि प्रदेशमा मात्र हैन, पाेखरामा चल्ने अधिकांश ट्याक्सीहरु पनि मिटरमा चलेका छैनन् ।

एक उदाहरण हो, पोखरा जिरो किमीको । शान्तिचोकमा घर भएकी गाेमा खत्री गत साताड घरमै अचेत भएर लडेकाे खवर थाहा पाएपछि उनलाई मेट्राेसिटी हस्पिटल लैजान दुईजना दिदीभाइ जिराेमा ट्याक्सीको खोजीमा हुन्छन् ।

दुइटा ट्याक्सी मिटरमा जान नमानेपछि उनीहरुले तेस्राे ट्याक्सीलाई जिरोदेखि शान्तिचोकसम्मको भाडा ३०० रुपैयाँ तिर्न बाध्य भए । ‘मिटरमा चल्ने ट्याक्सी खोजौं या कारबाहीका लागि फोन घुमाएर बसौं, विरामीलाई हस्पिटल पु¥याउने अरु मान्छे छैन, ढिलाे गर्न पनि भएन् बरु चालकले जति भन्छन् त्यतिमा गयौं । समयमै लगिदियकाेले हतार भएकाेले पनि ट्याक्सी नम्बर पनि टिपिएन उजुरीका लागि खबर नि गरिएन। ’ उनीहरुले नाम उल्लेख नगर्ने सर्तमा भने ।

प्राय आफ्नै २ पाङ्ग्रे सवारी साधनमा हिँड्ने हेमजाका स्थानीय कृष्णमान श्रेष्ठ हालसाथै परिवार लिएर पोखरा आउजाउ गर्दा कुनै पनि ट्याक्सी मिटरमा हिँड्न नमानेको र बरु खाली छैन भन्ने जवाफ ट्याक्सी चालकले दिने गरेको बताउँछन् । र, बाध्यताले गर्दा उनीहरुकै रेटमा हिँड्न बाध्य भएको सुनाउँछन्

तेस्रो उदाहरण पोखरा २६ को सुन्दरीबजारमा घर भएकी रेखा केसी भदौको पहिलो साता काठमाडौंबाट पोखरा एयरपोर्टमा झरिन् । उनी काठमाडौंमा काम विशेषले १० दिन बसेर फर्केकी थिइन् । काठमाडौं जाँदा धेरैजसाे हवाईयात्रा गर्ने उनले एयरपोर्ट पुग्दा र फर्किंदा प्राय ट्याक्सी प्रयोग गर्छिन् । उनले भदौ १ गतेदेखि ट्याक्सी मिटरमा अनिवार्य हिँड्नुपर्छ भन्ने विषयमा जानकार थिइन् । त्यसकारण उनले पार्किङमा रहेको ट्याक्सीलाई सुन्दरीबजार लगिदिन आग्रह गरिन तर ट्याक्सी चालकले १५ सय रुपैयाँ दिए जाने नत्र नजाने अडान लिए । उनले ट्याक्सीहरु मिटरमा अनिवार्य चल्नुपर्छ भनेर आग्रह गरिन् तर चालक मानेनन् । पढेलेखेकी शिक्षित भएकाले पनि उजुरी गर्ने कुरा उठाइन् । चालकले उजुरी गरे हुन्छ भन्ने ठाडो जवाफ दिए । तर उनलाई सबै कुरा जान्दा जान्दै, थाहा हुँदाहुदै पनि हतार भएको कारण अन्य कारबाहीभन्दा भाडा घटाउन लगाएर छिटो घर पुग्ने निधो गरिन् ।

ट्याक्सी जाने रुटको बारेमा रेखा केसी पूर्ण जानकार हुनाले केही समयको बार्गेनिङपछि ट्याक्सी चालकले ५०० रुपैयाँमा उनलाई सुन्दरीबजार प¥याइदिए । घर पुगेपछि हतारकाे बेलामा घर पुर्याईदिएकाे भन्दै मानवीयता साेचले कारबाहीका लागि खबर नगरेको उनी बताउँछिन् ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । सबै कुरा जानकार भएर पनि यात्रुहरु जानजान यसरी ठगिएका छन् भने ट्याक्सी मिटरमा चलेका छन् भन्ने कुराकाे जानकारी समेत नहुनेहरुलाई के थाहा ? अत्यावश्यक परेपछि जति चालकले माग्छन उत्ति भाडा दिएर हिँड्न विवश हुन्छन् यात्रुहरु । उनीहरुले यत्ति बुझेका हुन्छन् ट्याक्सीले ठाउँठाउँमा रोक्दैन् गन्तव्यमा छिटो पुर्याउछन तर भाडा भने धेरै लिन्छन्।

यस्तै स्याङजा पाेखरा चल्ने ट्याक्सीहरु पनि मिटरमा हिड्न नमान्ने यात्रुहरुकाे गुनासाे छ ।

प्रदेशभित्र या कास्की जिल्लामा पनि ट्याक्सीहरु मिटरमा चलेका छन् भनेर जति जिकिर गरिएपनि सवारी चालक समेत मिटरमा हिँड्न आनकानी गरिरहेका छन्। नियम बने पनि आफ्नो दैनिक गुजारा चलाउन र गाडीको किस्ता धान्न गाह्रो भइरहेको बेला मिटरमा गाडी गुडाउने हो भने भोलिबाट घरमा गाडी थन्काएर खाडी मुलुक पसे हुने पाेखराका केही ट्याक्सी चालक बताउँछन् ।

यसरी ट्याक्सीमा यात्रा गर्ने यात्रुहरु ठगिरहेकोबारे सम्बन्धित निकायको ध्यान कमै जान्छ । केही प्रतिशत सम्पन्न व्यक्तिहरु बाहेक धेरैजसो मानिसहरु अत्यावश्यक परेमा मात्र ट्याक्सीमा यात्रा गर्छन् ।

अत्यावश्यक परेर हिँड्नेहरुमा धेरैजसो न्यून आयस्तरका र मध्यमवर्गीय परिवारका हुन्छन् । उनीहरु नै ट्याक्सी चालकबाट बढि ठगिन्छन् । हुनेखाने वर्गका मानिसहरु कोही त जति रेट भने पनि हिँड्छन् कोही भने बार्गेनिङ गरेर पनि भाडा घटाउँछन् ।

नियमनकारी निकायका अधिकारीहरु निरन्तर अनुगमन भइरहेको दावी गर्छन् तर यात्रुु भने चालकले भनेकाे रकमलाई नै मिटर मान्न विवश छन् । ट्याक्सी चालक पनि मान्छे हेरेर भाडादर बताउँछन् ।

यसअघि पनि भाडादर समायोजनपछि छिटफुट ट्याक्सीहरु मिटरमा नचलेका भने होइनन् । तर यो केहि दिन पनि टिकेन् । तसर्थ ट्याक्सीहरु अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम पालना गर्न कडाइलाई निरन्तरता दिन सकियाे भने मात्र नियम कार्यान्वयन दिगो र प्रभावकारी हुने थियो ।

ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडासमेत तोकेको छ । समायोजन गरेको पछिल्लो भाडाअनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रतिदुई सय मिटर बराबर १० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसाका दरले भाडा लिनुपर्नेछ ।

प्रदेश सरकारले २०७८ फागुन १ गतेदेखि लागु हुने गरी भाडा समायोजन गरेपछि ट्याक्सी चालक मिटरमा हिँड्न तयार भएका थिए । नयाँ भाडादर लागु गर्ने सम्बन्धमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच ६ माघमा १० बुँदे प्रतिवद्धतापत्रमा हस्ताक्षर भएको थियो तर प्रतिवद्धतापत्र अनुसार कार्यान्वयन हुन सकेको थिएन् । मिटरमा ट्याक्सी नचल्दा यात्रु ठगिएको र धेरै भाडा तिर्नुपरेको व्यापक जनगुनासो थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रनानि शिवप्रसाद पाठकले दिएकाे जानकारी अनुसार प्रदेशमा हालसम्म ३ हजारको हाराहारीमा ट्याक्सीहरु चल्छन् भने कास्की जिल्लामा २ हजार ५ सयको हाराहारीमा ट्याक्सीहरु सञ्चालनमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्