नयाँबजारको व्यापार मेलामा छुट नै छुट 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा दैनिक उपभोग्य बस्तु तथा अन्य सेवाहरुमा भारी छुटको व्यवस्था गरिएको छ ।

 मंसिर २१ गतेदेखि सुरु भएको मेलामा रहेका विभिन्न स्टलहरुले भारी छुटमा सामानहरु बिक्री गरिरहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले जानकारी दिए । उनका अनुसार खासगरी दैनिक उपभोग्य बस्तु र लत्ताकपडाहरु सुपथ मूल्यमा बिक्री भइरहेका छन् ।

‘साल्ट्र ट्रेडिङ कर्पोरेसनले छुटसहित विभिन्न उत्पादनहरु बिक्री गरिहेको छ,’उनले भने,‘त्यस्तै मेलाको प्रवेश टिकटमा हामीले पनि विभिन्न उपहारको व्यवस्था गरेका छौँ ।’ उनका अनुसार मेलाको हेल्थ पार्टनर चरक मेमोरियल अस्पतालले मेलास्थलमा स्वास्थ्य परीक्षणका साथै हरेक दिन दुईजनालाई अस्पतालबाट सम्पूर्ण स्वास्थ्य परीक्षणको अवसर दिएको छ ।

 बेटरहोम्सबाट पनि दैनिक आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ भने चालिसे मोटर्स नयाँबजारले मेलाको प्रवेश टिकटबाट गोलाप्रथाद्धारा एकजनालाई सुजुकी एभेनिक स्कुटर दिने घोषणा गरेको छ ।

 यस्तै मेलास्थलमा रहेको नेपाल टेलिकमको स्टलबाट निःशुल्क सिमकार्ड वितरण भइरहेको छ । प्रिपेड सिमकार्डको लागि नागरिकताको प्रतिलिपी र एकप्रति पासपोर्ट साइजको फोटो भने आवश्यक हुने टेलिकमका बजार व्यवस्थापन प्रमुख महेन्द्र रिमालले जानकारी दिए ।

 मेलामा बैंक तथा वित्तीय संस्थाहरुले खाता खोल्नेदेखि आफ्ना सेवाबारे जानकारी दिइरहेका छन् भने पोखरा औद्योगिक क्षेत्र उद्योग संघको तर्फबाट राखिएका स्टलहरुबाट त्यहाँका औद्योगिक उत्पादनहरु सुपथ मूल्यमा बिक्री तथा प्रदर्शन भइरहेको संघका उपमहासचिव शोभा गौतमले जानकारी दिइन् ।

मेला पुस १ गतेसम्म जारी रहने छ । मेलामा सहभागीहरुलाई मनोरञ्जन दिन सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिएको संघका महासचिव बलराम आचार्यले जानकारी दिएका छन् । सांस्कृतिक कार्यक्रममा नाच्नेहरुलाई पनि उपहारको व्यवस्था गरिएको उनले जानकारी दिए

 ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्