व्यापार मेलाअन्तर्गत पोखरामा देशकै ठूलो अटो मेला

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको दावी छ,‘पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामुखीभन्दा पनि प्रवद्र्धनात्मक र रोजगारी सिर्जनामा केन्द्रीत रहन्छ ।’

पोखराको नयाँबजारमा मंसिर २१ गतेदेखि
जारी र ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’मा जाने हो भने, उनले भनेको कुरा पत्याउन कर लाग्छ । उनले भनेजस्तै मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको मेलामा प्रदर्शनमा राखिएका अधिकांश सवारी साधनहरु विद्युतीय (इभी) रहेका छन् ।

राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत अटो मेलाको चाँजोपाँजो पश्चिमाञ्चल अटोमोवाइल्स डिलर्स एसोसियसन (वाडा) ले मिलाएको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार पोखरामा भएको अटो प्रदर्शन काठमाडौंपछिको सवैभन्दा बृहत र ठूलो हो ।

‘सवारी साधनको माग काठमाडौंमा बढी छ र त्यहाँ हुने अटो सोहरु भव्य हुने गर्छन्,काठमाडौं बाहिर भने पोखरामा आयोजना हुने यो प्रदर्शनी नै सवैभन्दा ठूलो हो । यहाँको मेलामा नयाँ मोडलका गाडी र दुईपाङ्ग्रे सवारी साधनको लन्चिङ पनि हुने गरेको छ ।’

योपटक भने उपभोक्ताको बदलिँदो स्वभावलाई ध्यानमा राख्दै विद्युतीय (इभी)को प्रदर्शनी र प्रवद्र्धन भएको उनले बताए । ‘अहिले नेपालमा बढीमात्रामा विद्युतीय गाडीहरु भित्रिएका छन्, एकसे एक कम्पनीहरुले बजारमा नयाँ–नयाँ योजनासहित गाडीहरु ल्याइरहेका छन्, त्यसको प्रवद्र्धन हुने नै भयो,’उनले भने,‘अर्को कुरा, पेट्रोल र डिजल इञ्जिनका गाडीहरुको नयाँ मोडल अंग्रेजी पात्रोको जनवरीपछि मात्र आउने भएकाले पनि इभीले बढी ठाउँ पायो । प्रदर्शनी र प्रवद्र्धन गर्ने भनेकै नयाँको हो ।’

प्रदर्शनीमा राखिएका विद्युतीय सवारी साधनप्रति सहभागीहरुले चासो राख्ने गरेको र व्यापार पनि राम्रै भएको व्यवसायी प्रदीप पहारीको भनाइ छ । सेग्वे कम्पनीका स्कुटरहरुको आधिकारिक बिक्रेतासमेत रहेका पहारीले आइतबार मेलास्थलबाटै एउटा स्कुटर बिक्री गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको हातबाट ग्राहकलाई स्कुटरको चाबी हस्तान्तरण गरियो ।

अघिल्लो वर्ष मेलास्थलबाटै ५ वटाभन्दा बढी स्कुटर बिक्री भएको स्मरण गर्दै उनले थपे,‘विद्युतीय सवारीप्रतिको रुची बढ्दो छ तर युवा पलायन हुँदा उपभोक्ता घट्दै गएको अनुभूति चाहिँ भएको छ । ’ मेलामा रहेका अटोका विभिन्न स्टलबाट गाडी र स्कुटरहरुको बुकिङ भइरहनु सन्तोषको विषय भएको उनले सुनाए ।
माग र उपयोग बढ्दो

नेपालमा विद्युतीय गाडीहरुको माग ह्वात्तै बढेर गएको छ । विद्युतीय गाडी ( इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण उपभोक्ताहरुको रुची विद्युतीय सवारी साधनतर्फ मोडिएको हो ।

भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्ष २०८०÷०९१ को असोज मसान्तसम्म २ हजार १३५ वटा विद्युतीय सवारी साधन आयात गरिएको थियो । त्यसयता पनि ठूलो मात्रामा विद्युतीय सवारी साधन आयात भएको अनुमान गरिएको छ ।

मेलामा दीपलक्ष्मी ब्राइट इन्टरनेसनल प्रालिले मोरिस ग्यारेज (एमजी) का गाडीहरु प्रदर्शन र बिक्रीमा राखेको छ । एमजीको जेडएस इभी (डिलक्स), कमेट एमजी फोर अर्थात् सानो गाडी प्रदर्शनमा राखिएको दीपलक्ष्मीकी मेनुका गुरुङले बताइन् । कमेटको मूल्य १७ लाख ९९ हजार र एमजीको जेडएस डिलक्सको मूल्य ५२ लाख ९ढ हजार अनि एमजी फोरको ५८ लाख ९९ हजार रुपैयाँ रहेको उनले जानकारी दिइन् ।

यस्तै विश्वकर्मा अटो मोटर्सले मेलामा नेटा र किङलङ ब्राण्डका इभीहरु प्रदर्शनमा राखेको छ भने टेनिसा मोटर्सले ओरा,प्लग इनले बीवाइडीका गाडीहरुको प्रवद्र्धन गरिरहेको छ । नेपालमा प्रसिद्ध रहेको तथा मेलाको मुख्य प्रायोजकसमेत रहेको हुण्डाइले पनि इभीलाई प्रवद्र्धन गरिरहेको छ भने थापा मोटर्सले सेरेस ३,बतास ब्रदर्सले महिन्द्रा,चालिसे मोटर्सले सुजुकीका इभी स्कुटर प्रदर्शनमा राखेको छ । मेलामा कुसा क्यू, इसुजुको हाइल्याण्डर, अटोवेज प्रालिको ल्याण्डक्रुजर र कोरलाको पनि प्रवद्र्धन गरिएको छ ।

सेल्टोस,वारियर,सेग्वेहरुले पनि नयाँ उत्पादनहरुको प्रवर्दन गरिरहेको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

इभीको संख्या बढ्दै गएपछि अहिले देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । नेपालमा उपलब्ध धेरै जसो कम्पनीले आफ्नो ब्याट्रीहरू ८ देखि १० वर्ष वा एक लाखदेखि १ एक लाख ६० हजार किलोमिटरसम्मको ग्यारेन्टी दिइरहेका छन् । विस्तारै इभीले खर्च कम गराउँछ र सजिलो पनि छ भन्ने मान्यता विकसित हुँदै गइरहेको अटो व्यवसायीहरु बताउँछन् ।

यता, व्यापार मेला अगाडि बढ्दै गर्दा सांस्कृतिक कार्यक्रमका अलावा, स्टलहरुबाट आकर्षक छुटको व्यवस्था पनि थपिँदै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्यले जानकारी दिए ।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्