व्यापार मेला जारी: ८८ हजारले अवलोकर्ता र ६ करोडको कारोबार भएको आयोजकको दाबी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला ८८ हजार जनाले अवलोकन गरेको र करिब ६ करोड १५ लाखभन्दा बढीको कारोबार भएको आयोजकको दाबी छ ।

आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले मंसिर २१ गते समुद्घाटन भएको मेलामा महिलाहरु सहभागिता बढी भएको पनि बताए ।

‘समुद्घाटनकै दिन पोखराका हजारौं महिलाहरुले प्रभाफेरीसहित मेलामा सहभागिता जनाउनुभयो,दैनिक रुपले हुने महिला सहभागिता लोभलाग्दो छ,’उनले भने,‘शुक्रबार र शनिबार अवलोकनकर्ताको चाप बढ्ने हामीले विश्वास लिएका छौँ ।’

संघका महासचिव बलराम आचार्यले मेलाअन्तर्गतको सांस्कृतिक कार्यक्रममा पनि उल्लेख्य सहभागिता रहेको जिकिर गरे । ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुतिलाई सहभागीले रुचाएको उनको भनाइ थियो ।

‘हुन त हाम्रो मुख्य उद्धेश्य उद्यमशीलता सिकाउनु नै हो, त्यो काम हामीले स्टलमार्फत् गरिहेका छौं, सहभागीहरुलाई थप मनोरञ्जन दिलाउने उपक्रममा सांगीतिक कार्यक्रम समावेश गरिएको हो । बिहीबार चर्चित लोकदोहोरी गायक राजु परियारसहितको प्रस्तुति रहेको र शुक्रबार सहिमा श्रेष्ठ,ऋतु कँडेल,अस्मिता डल्लाकोटी,घनश्याम लामिछाने,प्रिन्स लम्सालगायतका कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।
संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाले मेलामा रहेका स्टलहरुबाट किनमेल पनि राम्रै भएको प्रतिक्रिया दिए ।
‘मेलामा बिक्रीमा राखिएका सामग्रीहरुमा विशेष छुट प्रदान गरिएको छ, अवलोकनका लागि आउनेहरु खालीहात जाने अवस्था छैन,’उनले भने । गाडी र स्कुटरलगायत ठूलो कारोबार पनि ठूलै भएको उनले बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्