दुई पैदल यात्रीलाई ठक्कर दिएर मार्ने कार चालक आफै पुगे प्रहरीको सम्पर्कमा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
सोमबार मध्यराति पाेखराकाे पर्स्याङमा दुई जना पैदल यात्रीलाई ज्यान जाने गरी ठक्कर दिएर फरार भएका कारका चालक वैदाम प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

कार चालक कास्कीको माछापुच्छ्रे गा.पा.२ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङ मंगलवार राति ९:२५ बजेको समयमा वडा प्रहरी कार्यालय बैदाममा आफै सम्पर्कमा पुगेको प्रहरीले इमेलमार्फत जानकारी गराएको हो ।

सोमबार मध्यराति बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको तीव्र गतिको कारले पाेखरा ५ काे पर्स्याङबाट चिप्लेढुङ्गा जाने बाटाेछेउमै दुई पैदलयात्रीलाई ठक्कर दिएपछि रुखहरु ढाल्दै घरकाे फार्मेसीकाे सटरमा गएर ठाेक्किएकाे थियाे । दुघर्टनापश्चात कार चालक गुरुङ भागेका थिए ।

कारकाे ठक्करबाट पोखरा ३ नदिपुर बस्ने ढोरपाटन न.पा. ६ बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का एक परिचय नखुलेका पैदल यात्रीको मृत्यु भएको थियो ।

राति करिव १२ बजेर ५१ मिनेट जाँदा भएको दुर्घटना लगत्तै घाईतेलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगेकोमा छन्त्याललाई १:३५ बजे र अन्दाजी ३५ वर्षीय अर्का युवकलाई १:५५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक दुवैको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको र दोश्रो व्यक्तिको अझै पनि सनाखत नभएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार प्रहरीको नियन्त्रणमा रहेको छ ।

घट्नाकाे विषयमा वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी राजेन्द्र श्रेषठकाे कमाण्डमा १५ जनाकाे टाेली खटिएर अनुसन्धान गरकाे प्रहरीले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्