सहकारी ठगीको आरोपमा महेन्द्र भोटे र भविश्वर अर्याल कारागार चलान

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा कास्की जिल्ला अदालतले शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई आज बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश बसन्तजंग थापाको इजलासले थुनछेक बहस पछि गुरुङ र अर्याललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । गत भदौं २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका महेन्द्र भोटे र भविश्वर हिजो मंगलबार कानुन व्यवसायी रोहितराज बाँस्तोलाको सहयोगमा अदालतमा आत्मसमर्पण गरेका थिए ।

महेन्द्र भोटे सहकारीको सञ्चालक समिति सदस्य तथा लेखा समितिमा धेरै वर्ष रहेर करोडौं रुपैयाँ आर्थिक अनियमितता गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो । साथै महेन्द्र भोटेको नाममा पोखराको नालामुखमा रहेको सहकारीको कार्यालयको भवन समेत पास गरिएको भेटिएको छ । त्यसैगरी स्वर्णलक्ष्मी सहकारीलाई १५ करोड रुपैयाँ ऋण लिनका लागि मञ्जुरीनामा दिएको विषय पनि अदालतमा वहसका क्रममा कानुनी व्यवसायीहरुले उठाएका बचतकर्ताहरुले जानकारी दिएका छन् ।

सहकारीमा भविश्वरको ठूलो कारोबार नदेखिए पनि महेन्द्र भोटेको भने सहकारीको करोडौं रुपैयाँ हिनामिना गर्ने कार्यमा जीवी राईसँग बलियो साँठगाँठ देखिएको छ । महेन्द्र भोटे पक्राउ परेसँगैं अब भोटेको माध्यमबाट सहकारीको पैसा हिनामिना गर्ने अन्य ३/४ जनाको बारेमा पनि थप जानकारी आउने आशा कास्की प्रहरीले गरेको छ । महेन्द्र भोटेलाई सहकारीको रकम अपचलन गरेको मुद्दामा साढे आठ करोड विगो दावी गरिएको छ ।

जिल्ला अदातलमा दर्ता भएको मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालाई दिलाउन माग गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम सहकारी ठगी मुद्दामा १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारी ऐनको दफा १२२ (घ), (ङ), (च), (छ), (ज) र (त) अनुसारको कसूरमा दफा १२४ (घ) र घ (६) अनुसार बिगो बमोजिम जरिवाना र ८ देखि १०  वर्ष कैद सजायको माग गरिएको छ ।

सहकारीका तत्कालिन अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई, टोले गुन्डा महेन्द्र भोटे लगायत १९ जनाको समूहले सहकारीको १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको छानबिन प्रतिवेदन र प्रहरीको अनुसन्धानबाट खुलेको थियो । सहकारी ऐन अनुसार १ अर्ब रुपैयाँ भन्दा बढी ठग्नेलाई ८ वर्षदेखि १० वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।

सहकारीको रकम पदाधिकारी तथा पूर्वसञ्चालकहरु मिलेर १८ हजार ७ सय जनाको बचतकर्ताको रकम हिनामिना गरेको अनुसन्धानबाट देखिएको थियो । जीबी राई र महेन्द्र भोटेको समूहले कृतिम शेयर सदस्य र खाता खोलेर सहकारीको रकम हिनामिना गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा राखिएको प्रहरीको अनुसन्धानमा देखिएको थियो ।

देशभरका विभिन्न सहकारीबाट यो समूहले झण्डैं १६ अर्ब रुपैयाँ हिनामिना गर्दै नेटवर्क बनाएर विभिन्न क्षेत्रमा लगानी गरेको थियो । अनुसन्धानका क्रममा जीबी राई समूहले पोखरामा पनि कागजातबिनै विभिन्न सहायक कम्पनीका नाममा पैसा अपचलन गरेको भेटिएको थियो । जीवी राईको अधिकांश व्यवसायमा महेन्द्र भोटे सहकारी कैं पैसामा साझेदारी रहँदैं आईरहेका थिए ।

अपराधिक र गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका महेन्द्र भोटे नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका उपमहासचिव र स्थानीय चुनावमा कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा पराजित पात्र हुन् । साभार:डनन्यूज डटकम

https://donnews.com/archives/21415

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्