
पोखरा । विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा शुक्रवार भएएपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो ।
पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ । उनले खेलको १९ औं र ७१ औं मिनेटमा दुवै गोल हेडिङमार्फत गरे ।
खेलको १९ औं मिनेटमा प्रताप गुरुङले हानेको फ्रिकिकलाई पेनाल्टी बक्सबाट ग्रहण गर्दै उनले हेडरमार्फत जाली चुमाएका हुन् ।
खेलको ७१ औं मिनेटमा पनि उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । उनले पेनाल्टी बक्स एरियामा आएको क्रस बललाई हेडमार्फत गोलको दिशा दिएका हुन् ।
प्रतियाेगितामा शनिवारबाट क्वार्टरफाइनल खेल सुरु हुनेछन् । क्वार्टरफाइनलअन्तर्गत पहिलो खेल आमन्त्रित क्लब भुटानको पारो एफसी र थ्रीस्टारबीच हुनेछ ।