पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता तालिम सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

नेपाल पत्रकार महासंघ कास्कीको डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम सम्पन्न भएको छ । आइतबार देखि सुरु भएको दुई दिने तालिममा पोखराका ५० बढी पत्रकारको सहभागिता थियो । तालिममा प्रशिक्षक डिजिटल राइट्स नेपालका संस्थापक सन्तोष सिग्देलले आवश्यक जानकारी उपलब्ध गराएका थिए ।

कार्यक्रमको समापन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्याम कृष्ण थापाले डिजिटल साक्षरता सम्बन्धि तालिम पछिल्लो समय अति आवश्यक रहेको उल्लेख गरे । उनले पत्रकारिता जगतलाई उक्त तालिम उपलब्ध गराउँदा नागरिक सुुसूचित हुने भएकाले पोखरा महानगरपालिकाको सहकार्य रहेको बताए । डिजिटल दुनियाँमा यसको सुरक्षाको विषय महत्वपूर्ण भएकाले समाजलाई अनुशासनमा राख्न पत्रकार जागरुक हुनुपर्ने भनाई उनको छ ।

सबै एक भए मात्र मुलुकको समृद्धि सम्भव भएको बताउँदै उनले कुनै एक क्षेत्रले मात्र गरेर केही नहुने बताए । पोखरा महागर आगामी दिनमा पनि यस्ता तालिमहरुमा साथमा रहने प्रतिबद्धता उनको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकार महासंघ अभिभावकीय संस्था भएको र डिजिटल साक्षरता तालिमको आवश्कयता ठानेर नै कार्यक्रमको आयोजना गरिएको बताइन् ।

उनले कास्कीका पत्रकारहरुमा साक्षरता बढाउन महासंघले तालिम गर्दै आएको जानकारी गराइन् । डिजिटल दुनियामा हरेक समय नयाँ कुरा चाहिएको र त्यसका लागि तालिमको आवश्यकता पर्ने भनाई उनको छ ।

डिजिटल विषयलाई आत्मसात् गरिरहँदा डिजिटल सुरक्षालाई हामीले कत्तिको ध्यान दिएका छौं उक्त विषय प्रमुख कुरा भएको उनले बताइन् । पत्रकारितालाई मर्यादित बनाउन डिजिटल साक्षरता खाँचो परेको उनले उल्लेख गरिन् ।

नागरिकलाई सुसूचित बनाउन पत्रकार सँगै सरकार समेत चनाखो रहनुपर्ने विषयलाई उनले उठाएकी छिन् । भ्रष्टाचार न्यूनिकरण र सुशासन कायम गर्न सरकारी निकाय पनि डिजिटल बन्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले पत्रकार महासंघ कास्कीले आयोजना गरेको तालिमको प्रशंसा गरे । प्रशिक्षक सिग्देलले दुई दिनको तालिम पत्रकारका लागि लाभदायक रहेको विश्वास व्यक्त गरे । ‘पत्रकारले एउटा कुरा मात्र जानेर भएन हरेक विषयका बारेमा जानकार हुनुपर्यो’,उनले भने । दुई दिनको बसाई सार्थक रहेको भनाई उनको छ ।

तालिम अनुभव सुनाउँदै पत्रकार घनश्याम पाण्डेले आगामी दिनमा पनि यस्तै तालिम गर्दै जानुपर्ने बताए । तालिम फलदायी र समयसान्दर्भिक रहेको भनाई उनको छ ।

सहभागी केशु भुजेलले डिजिटल साक्षरताका विषयमा धेरै कुरा सिक्ने अवसर मिलेको उल्लेख गरिन् ।

पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठले समेत प्रशिक्षण गरेको तालिमको समापन कार्यक्रमको संचालन उपाध्यक्ष एवम् तालिम संयोजक रामप्रसाद तिमिल्सेनाले गरेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्