महानायक राजेश हमालको सुझावः ‘आदर्शका कुरा हैन,वास्तविकता बुझ्नुस्’  

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले आदर्शका कुरा हैन वास्तविकता बुझेर अगाडी बढ्न सबैलाई सुझाव दिएका छन् । पछिल्लो समय युवा जमात वैदेशिक अध्ययनमा जाने संस्कार बढ्यो अव यसलाई रोक्नुपर्छ भनेर गरिएको अव्यवहारिक व्याख्याप्रति उनले गहिरो टिप्पणी गरे ।

क्यानडा, युके, युएसए जस्ता राम्रा देशहरुमा अध्ययनको अवसर पाएमा कसैले नाई नभन्ने बताउँदै महानायक हमालले विदेशमा अध्ययन गरेकालाई फर्किने वातावरण भन्नु आदर्शका कुरा मात्र भएको जिकिर गरे ।

शुक्रवार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको शैक्षिक बहस कार्यक्रममा उनले राष्ट्र निर्माणका लागि अन्तराष्ट्रिय शिक्षा (Global Education for Building the Nation)  सम्वन्धी विषयमा प्रमुख वक्ताको रुपमा विचार राख्ने क्रममा यस्तो बताएका हुन् ।

 उनले आफ्नो वैदेशिक अध्ययनको अनुभव सुनाउँदै राष्ट्र निर्माणमा शिक्षा नै महत्वपूर्ण भएको बताए ।

उनले विदेशमा अध्ययन गरेका नेपालीहरु फर्किने तथा अव वैदेशिक अध्ययनमा नजाने वातावरण तथा नीति नियम बनाउने साथै अन्य देशका नागरिकहरु यहि पढ्न आउने बनाउँछौ भन्ने कुरा व्यवहारिकता नभई आदर्शमा सिमित भएको उल्लेख गरे ।

उनले भने ः‘हाम्रो देशको शिक्षा क्षेत्रमा विगतमा भन्दा धेरै उपलव्धीहरु भएका छन् । तर हामी यहि बस्ने वातावरण बनाउँछौं, नीति नियम बनाउँछौ भनेर परिवर्तन हुनेवाला छैन् । नीति नियम बनाउनु सुरुवात हो, राम्रो हो । तर जादुको छडी चाहिँ हैन् । नीति नियम बनाएर कार्यान्वयन गर्दै, अवको १० वर्ष, १५ वर्ष, २० वर्ष वा २५ वर्षमा यस्तो गर्छौ भनेर दीर्घकालीन सोच राखेर क्रमबद्ध रुपमा सुधार गर्दै जानुभयो भने केहि सम्भव होला । तर नीति नियमलाई तत्कालै जादुको छडी मान्यो भने चेन्ज हुनेवाला छैन् । नेपालीहरु विदेश जान रोकिनेवाला पनि छैनन, र सबै स्वदेश फर्किएर आउनेवाला पनि छैनन् ।’

महानायक हमालले डाक्टर, पाइलट, इन्जिनियर लगायतका विषय विदेशमा अध्ययन गरि स्वदेश फर्किएर सेवा गरेको उदाहरण दिदै वैदेशिक अध्ययनको वास्तविकता पहिचान गरी दीर्घकालीन सोच राखेर काम गर्न सुझाए । यसको लागि नयाँ आउने परिस्थितिलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।

मोटिभेटर तथा बौद्धिक व्यक्ति हमालले विदेशमा रहेका सबै नेपालीलाई आफ्नो देशको माया लाग्ने गरेको बताउँदै राष्ट्र निर्माणका लागि उनीहरुलाई सामाजिक, आर्थिक तथा शैक्षिक रुपमा कहि न कहि लिंक गराउने र उनीहरुबाट नेपाल र नेपालीका लागि कसरी फाईदा लिन सकिन्छ भन्ने कुरालाई महत्व दिएर काम गर्नुपर्ने बताए ।

हरेक राष्ट्रमा भएका विकासको क्रमलाई हेर्दा त्यो राष्ट्रमा शिक्षाको विकास कहिलेदेखि शुरु भयो भन्ने बुझ्न जरुरी छ  । यसरी हेर्ने हो भने अरु राष्ट्रको तुलनामा नेपालको शिक्षाको विकास निकै पछाडी भएको पाईएको उनको भनाई छ ।

नेपालीहरु वैदेशिक अध्ययनमा अहिले मात्र नभएर अघिल्लो पुस्तादेखि नै जाने गरेको हमालले बताए । संख्यात्मक रुपमा अहिले बढी देखिएपनि वैदेशिक अध्ययनको संस्कार पहिले नै भएको उनको भनाई छ ।

बदलिदो समय अनुसार मानिसका चाहाना आकांक्षा पनि बढेका हुन्छन् । यसर्थ वेटर लाइफको लागि विदेश गएर बसेकाहरुलाई यही रोजगार दिन्छु भनेर कोही पनि फर्केर नआउने हमालले उल्लेख गरे । उनले विभिन्न व्यक्ति तथा सीपहरुको उदाहरण दिदै आफ्नो विचारलाई प्रष्ट पारे ।

महानायक हमालले रोजगार पाउनु मात्र ठुलो कुरा नभई रोजगारले मानिसका न्यूनतम आवश्यकता पूरा गर्न सक्नुपर्नेमा जोड दिए ।

उनले भने ‘हरेक राष्ट्रको आफ्नो हैसियत अनुसारको शिक्षाको स्तर हुन्छ, आर्थिक स्तर हुन्छ । सोही अनुसार नै राष्ट्र र सो देशका नागरिक अघि बढ्ने हो । सोही अनुसार हाम्रो देशमा पनि वैदेशिक अध्ययनमा जानुको वास्तविकताबाट माथि उठाएर आफ्नो राष्ट्र परिस्कृत, परिमार्जित, विकसित र समृद्ध कसरी बनाउन सकिन्छ भनेर सोच्न सकियो तर विदेश जान रोक्न चाहिँ सकिदैन् ।’

अहिलेको युवा जमात नेपालको शिक्षा कमजोर भएर भन्दा पनि सुरक्षित र वेटर भविष्यको लागि वैदेशिक अध्ययनमा जाने गरेको बताउँदै उनले आफ्नो फिल्मी क्षेत्र र शेष घलेको उदाहरण समेत दिए ।

हमालले अहिले विदेशमा भएका नेपाली नागरिकहरु अधिकांश पहिलो पुस्ताको भएको बताउँदै वास्तविकतालाई पहिचान गरी सम्वोधन गर्न सकिन्छ भनेर दुरगामी हिसावले सोच्न सुझाव दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्