रुकुमपूर्वमा इन्फिनिटी लघुवित्तद्वारा १०० बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

रुकुमपूर्व । दुर्गम क्षेत्रका विद्यार्थीको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, तकसेरा शाखाले १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पुथाउत्तरगंगा गाउँपालिका–१०, बच्छीगाउँस्थित श्री हिमाल जनजागृत आधार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।

‎संस्थाका अनुसार दुर्गम हिमाली क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई सिकाइप्रति उत्साह बढाउने र गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

‎कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक रजवलाल पुनले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि विद्यालय, समुदाय, अभिभावक र विभिन्न संस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताए । यस्ता सहयोगले विद्यार्थीमा अध्ययनप्रति रुचि बढ्नुका साथै आत्मविश्वास र नियमित विद्यालय आउने बानीको विकास हुने उनले विश्वास छ । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गरेकोमा इन्फिनिटी लघुवित्तप्रति आभारसमेत व्यक्त गरे ।

साेही अवसरमा विद्यार्थीलाई नियमित अध्ययन, अनुशासन र उज्ज्वल भविष्य निर्माणतर्फ प्रेरित गरिएको थियो । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थी उत्साहित देखिएका थिए भने स्थानीयवासीले यस्ता कार्यक्रमले दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

‎ इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, रुकुमपूर्वको तकसेरा शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्