बाँगेको मैदान माबिमा विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाइ सम्बन्धी उत्प्रेरणा तालिम सम्पन्न

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगेको मैदान माध्यमिक विद्यालयमा मंगलबार सिकाइ सम्बन्धी उत्प्रेरणा तालिम आयोजना गरिएको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई विविध पहलुमा सिकाइको महत्त्व र जीवनमा सकारात्मक सोचको भूमिका बारेमा प्रशिक्षण दिइएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुलाई पाठ्यक्रमको सामग्रीसँगै बाह्य ज्ञानको महत्व र सकारात्मक सोचको महत्त्वबारे बोले। उनले अभिभावक र शिक्षकहरूको भूमिकामा बल दिँदै बच्चाहरुको जीवनमा सही मार्गदर्शनको आवश्यकता औंल्याए।

कसरी पढ्ने र कसरी सिक्ने भन्ने विषयमा “कसरी पढ्ने, कसरी सिक्ने” पुस्तकका लेखक कृष्ण क्षेत्री उदयले आफ्ना व्यक्तिगत अनुभव र जीवनका विभिन्न आयामसँग जोडेर विद्यार्थीलार्ई प्रोत्साहित गरे। उनले भने, “विद्यार्थी र अभिभावकले समय अनुसार प्रविधिको प्रयोग गरेर शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्नेछ।” उनले विशेष गरी सोशल मिडियामा समय व्यवस्थापन र यसको सही प्रयोगको महत्त्वबारे पनि प्रशिक्षण दिइएको थियो।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय पार्षद सागर कार्कीले बोल्ने कला र त्यसको महत्व बारे प्रशिक्षण दिँदै, “जुनसुकै पेशामा सफलता पाउनका लागि बोल्ने कला आवश्यक छ,” भने।

संघर्षमा कलमका अध्यक्ष र पत्रकार कृष्ण रानाभाटले विद्यार्थीहरूको लागि समयको सदुपयोगको महत्त्व बारे जानकारी दिँदै, “आफ्नो भविष्यको लागि समयमै आवश्यक तालिम र ज्ञान प्राप्त गर्नु महत्वपूर्ण छ,” भने।

वेभपेज नेपालका सीईओ पितम सेन ठकुरीले योग र ध्यानको महत्त्वसम्बन्धी प्रशिक्षण दिएका थिए, जसले विद्यार्थीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्ने बताए।

कार्यक्रमलाई दुई समूहमा विभाजन गरेर सञ्चालन गरिएको थियो। कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरूको लागि योग, ध्यान, बोल्ने कला र सिकाइ सम्बन्धी तालिम दिइएको थियो। कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूको लागि थप व्यावसायिक र जीवनोपयोगी तालिम दिइयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानेस्वर पौडेल, शिक्षक टेक नारायण गुरुङ र लेखापाल सुनिल क्षेत्रीले विद्यार्थीलाई विद्यालय जीवनमै योग र ध्यान अभ्यास गराउनका साथै समयमै आवश्यक तालिम दिनु भविष्य उज्ज्वल बनाउनको लागि अत्यावश्यक रहेको धारणा व्यक्त गरे।

यस अवसरमा विद्यालयका शिक्षक, अभिभावक र व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्