छोरेपाटन माविको चित्रकला प्रतियोगितामा जैसी प्रथम

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । छोरेपाटन माध्यमिक विद्यालयमा भूपू विद्यार्थी मञ्चले आयोजना गरेको खुला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम भएकी छिन्। कक्षा ६ (सी) का रोल नम्बर ३१ की छात्रा जैसीले जलवायु परिवर्तनका असर र चुनौतीसम्बन्धी चित्र बनाएकी थिइन्। निर्णायक नगेन सिंह ठकुरीले उनकीे चित्रलाई उत्कृष्ट घोषणा गर्दै यसलाई सन्देशमूलक र कलात्मक ठहर गरेका थिए।

प्रतियोगितामा कक्षा ८ (सी) का रोल नम्बर ११ की अनुष्का पंगेनी दोस्रो र कक्षा १२ (इ) का रोल नम्बर ७३८ का सुवित गिरी तेस्रो भए। विजेताहरुलाई क्रमशः नगद ३ हजार, २ हजार, र १ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन्। प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगिताका निर्णायक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य ठकुरीले उत्कृष्ट तीन जनालाई आफ्नो नगेन आर्ट एकेडेमीमा २५ प्रतिशत छुट दिने घोषणा गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल, भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटलगायतले सहभागी विद्यार्थीहरूलाई धन्यवाद दिँदै पढाइसँगै अतिरिक्त क्रियाकलापहरूमा सक्रिय हुन प्रेरित गरेका थिए।

कार्यक्रम संयोजक छविलाल पनेरुले प्रतियोगिताले विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभा उजागर गर्न सहयोग पुर्‍याएको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्