
हङकङ । नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी एवं सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष बिल तामाङको १३ औं दिनको पुण्यतिथीमा हङकङमा आज (आइतबार) श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ ।
सहारा क्लब हङकङ, तामाङ घेदुङ हङकङ, एल.जी.संगम परिवार हङकङ र नादा समाज हङकङको संयुक्त आयोजनामा पूर्व राष्ट्रिय खेलाडी एवं उपाध्यक्ष तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै आइतबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।
सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले तामाङले आफ्नो खेलाडी जीवनमा खेलकुदमा पुराउन नसकेको बाँकी काम प्रशिक्षक बनेर देखाउने लक्ष्यका साथ एएफसी ए लेवलको प्रशिक्षण लाइसेन्स लिन नेपाल गएको समयमा निधन भएकोले आफुहरु निकै मर्माहित भएको बताए ।
उनले भने “ हामीले भौतिक रुपमा तामाङलाई गुमाय पनि उहाँले देखाएको बाटो हामीले अनुसरण गर्दै उहाँले समाजमा पुराएको योगदानलाई हामी सधै स्मरण गर्ने छौं । ”
कार्यक्रममा सहारा क्लव हङकङका पूर्व प्रमुख सल्लाहकार तुल्सी गुरुङ, महासचिव कुमार गुरुङले तामाङले खेलकुद तथा सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गरेका थिए ।