प्रधानमन्त्री ओलीको निर्देशनमा कक्षा १२ काे परीक्षा स्थगित

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । देशको पछिल्लो जटिल परिस्थितिलाई ध्यानमा राख्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने भनिएको वार्षिक परीक्षा केही दिनका लागि स्थगन गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले प्रधानमन्त्री ओलीलाई परीक्षाको तयारी र वर्तमान अवस्था सम्बन्धी जानकारी दिएका थिए। छलफलपछि प्रधानमन्त्री ओलीले विद्यार्थीको सुरक्षा र परिस्थिति अनुकूल नहुँदासम्म परीक्षा सञ्चालन नगर्न निर्देशन दिएका हुन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा स्थगन गर्नुको पछाडि हालको परिस्थिति प्रतिकूल रहेको ठहर गरिएको छ। अध्यक्ष शर्माले भने, “परीक्षा सञ्चालनको सम्पूर्ण तयारी लगभग पूरा भइसकेको थियो, तर वर्तमान स्थितिको गम्भीरतालाई हेरेर स्थगनको निर्णय लिइएको हो।”

परीक्षा स्थगनको निर्णयले लाखौं विद्यार्थी र अभिभावकलाई तत्कालिक तनावबाट राहत मिल्ने अपेक्षा गरिएको छ। बोर्डले नयाँ परीक्षा तालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

“हामी परिस्थिति सामान्य भएसँगै सुरक्षित र व्यवस्थित ढंगले परीक्षा सञ्चालन गर्नेछौं,” अध्यक्ष शर्माले स्पष्ट पारे।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्