पोखरा–२६ मा एसईई दिएका विद्यार्थीका लागि डिजिटल प्रविधि तालिम सुरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ ले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै डिजिटल प्रविधिमा आधारित विशेष तालिम शुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको उक्त तालिमको शुभारम्भ वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले गर्नुभएको हो।

तालिम उद्घाटन गर्दै अध्यक्ष थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले डिजिटल तालिमले विद्यार्थीलाई ‘पढ्दै कमाउँदै’ संस्कृतिमा अभ्यस्त बनाउन तथा भविष्यमा जीवन उपयोगी सीप प्रदान गर्न मद्दत गर्ने स्पष्ट पार्नुभयो। साथै, भिडियो सम्पादन, विषयवस्तु खोजी र चयन तथा ग्राफिक्स डिजाइन जस्ता सीपले एसईईपछि अध्ययनमा समेत थप टेवा पुग्ने उहाँले उल्लेख गर्नुभयो।

सामाजिक सञ्जाल र नयाँ सञ्चार माध्यमको विकास तीव्र भइरहेका बेला डिजिटल सीप सिकेर आम्दानीको बाटो खोल्न सकिने भएकाले प्रशिक्षार्थीहरूलाई तालिममा गम्भीरतापूर्वक सहभागी हुन अध्यक्ष थापाले आग्रह गर्नुभयो। साथै, वडाले अघि सारेको ‘पढ्दै कमाउँदै’ र ‘बुक फ्रि डे’ जस्ता विद्यार्थी लक्षित कार्यक्रमहरूलाई सीप विकाससँग जोड्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा शिक्षाविद् रविराज बरालले परीक्षा सकेर फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गरी समयमै तालिम सुरु गरिएकोमा वडालाई धन्यवाद दिनुभयो। उहाँले विद्यार्थीहरूले ब्रिज कोर्सका नाममा महँगो शुल्क तिर्नुपर्ने अवस्थामा वडाले गुणस्तरीय र उपयोगी तालिम निःशुल्क प्रदान गरेर स्थानीय सरकारको भूमिकालाई सशक्त बनाएको टिप्पणी गर्नुभयो।

तालिम शुभारम्भ कार्यक्रम वडा सदस्य तिर्थबहादुर राजभाटको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, र तालिम सहयोगी संस्था आकारका इन्जिनियर सन्दिप पौडेल लगायतले सामाजिक सञ्जाल र डिजिटल प्रविधिको ठूलो बजार रहेको उल्लेख गर्दै त्यसको सही उपयोग गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभएको थियो।

वडा नं. २६ द्वारा सञ्चालन गरिएको तालिममा भिडियो सम्पादन, ग्राफिक्स डिजाइन, कन्टेन्ट क्रिएशन, व्यक्तित्व विकास, प्रोग्रामिङ तथा रोबोटिक्स जस्ता विषयमा ७० जना बालबालिकाले सहभागिता जनाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्