नेपाल हवाई खेलकुद संस्थाको अध्यक्षमा माधव तिवारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को २३औँ साधारण सभा तथा ११औँ अधिवेशनले माधव तिवारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

बिहीबार पोखरामा सम्पन्न अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि तिवारी अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका प्रत्यासी सानुबाबु सुनुवार र खेमराज आचार्यलाई पछि पार्दै तिवारी विजयी भएका हुन्।

तिवारीले १३६ मत प्राप्त गर्दा सुनुवारले १२३ र आचार्यले १४ मत प्राप्त गरे।

निर्वाचित अध्यक्ष तिवारीले पोखराको प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित पेशाका रूपमा विकास गर्न विशेष भूमिका खेल्ने बताए। संस्थामा सबैलाई समेटेर नेतृत्व गर्ने उनको भनाइ थियो।

त्यस्तै, प्रथम उपाध्यक्षमा विजय गौतम १६६ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी नारायण पराजुलीले १०६ मत प्राप्त गरे।

महासचिवमा रोशन गौतम १९२ मतसहित निर्वाचित भए। उनकी प्रतिस्पर्धी कमला नेपालीले ७८ मत प्राप्त गरिन्।

सचिवमा शर्मिला शर्मा १६० मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी भुवन गाहाले ११६ मत प्राप्त गरे।

कोषाध्यक्षमा रामचन्द्र सुवेदी ‘राजु’ १३१ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी सुरेश कुमार श्रेष्ठले ८४ र रेशमबहादुर थापाले ५१ मत प्राप्त गरे।

प्राविधिक उपाध्यक्षमा सुरेश थापा निर्विरोध निर्वाचित भए।

सदस्यमा अमित थापा, लक्ष्मण कुँवर, प्रकाश भुजेल, युवराज गौतम, रेवतीरमण पराजुली, रविन अधिकारी र दीपक थापा निर्वाचित भएका छन्। संस्थाको निवर्तमान अध्यक्षमा अनिल केसी छन्।

यसअघि बुधबार अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्याराग्लाइडिङ पोखराको पहिचान बनिसकेको भन्दै यसको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्