परमादेश हैन जनादेशबाट बनेकाे सरकार स्थापित गर्न सूर्य चिन्हमा भाेट:कृष्ण थापा

  • ख-
  • ख+

हेमजा ।
पाेखरा महानगरपालिकाकाे  एमालेकाे तर्फबाट  मेयर पदका उम्मेदवार कृष्णबहादुर थापाले  परमादेश हैन जनादेशबाट सरकार स्थापित गर्नका लागि सूर्य चिन्हमा भाेट दिन अपिल गरेका छन् ।

उनले देशी विदेशी सबै षडयन्त्रकारी मिलेर जनताबाट निर्वाचित सरकारलाई अपदस्त गरेर परमादेशबाट बनेकाे सरकार हैन, जनताकाे अमुल्य मत जनादेशबाट बनेकाे सरकार स्थापित गर्न एमालेलाई मत दिनुकाे विकल्प नभएकाे बताए ।

आसन्न वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनकाे प्रचारप्रसार अभियान अन्तर्गत आज पाेखरा २५ हेमजाकाे लामाचाैतारामा भएकाे चुनावी सभामा थापाले पाेखरा २५ हेमजालाई नमुना वडाकाे रुपमा विकास गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले हेमजालाई कृषिमा आत्मनिरर्भर बनाउन महानगरले सहयाेग गर्ने बताए ।

उनले अब महानगरमा लाईनमा हैन अनलाईनमै सेवा दिने व्यवस्था मिलाउने उद्घाेष गरे ।

उनले प्रमुखमा निर्वाचित भएपछि पाँच वर्ष पोखराको विकास र पोखरेली जनताको हितमा देखिने गरी काम प्रतिवद्वता व्यक्त गरे ।

२०५४ सालमै तत्कालीन पोखरा उपमहानगरपालिकाको प्रमुख भएर कार्य अनुभव बटुलेका थापाले नेपालमा बहुदलीय व्यवस्था स्थापानापछि बितेको पाँच वर्षमा सबै भन्दा धेरै विकास र पूर्वाधार निर्माण भएको र यसको नेतृत्व एमालेले गरेको बताए । उनले अब महानगरकाे प्रमुखमा जानू भनेकाे सिक्नका लागि नभई काम गर्नका लागि तयारी भएर जाने बताए । आफ्नाे अनुभवले पनि प्रमुखमा विजयी भईसकेपछिकाे भाेलिपल्टैबाट विकासका काम शुरु गर्ने उनकाे भनाई छ ।

२०७४ को निर्वाचिनमा पोखरामा निर्वाचित प्रमुख मानबहादुर जिसीसहितको टिमले संघियता कार्यान्वयनको जग बलियो बनाएको थापाले बताए । ‘ संघियताको जग बसेको छ,’ थापाले भने,‘ त्यही जगमा टेकेर समृद्ध पोखरा र जनतालाई सुशासनको अनुभूति हुने गरी काम गर्नेछु ।’

पोखरा महानगरका प्रमुख पदका उम्मेदवार थापाले मेयरमा निर्वाचित भएपछि पाउने सेवा, सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताए । ‘जनप्रतिनिधि जनताको सेवक हो शासक होइन,’ थापाले भने,‘ जनप्रतिनिधिका रुपमा पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्नेछु ।’ उम्मेदवार थापाले एमालेबाट फुटेर गएकाले आफू एमाले मै छु भनेर भोट मागेकोले त्यस्तो भ्रममा नपर्न उनले नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।

कार्यक्रममा उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले पाँच वर्षमा पोखरामा जनप्रतिनिधिले गरेको विकास निर्माण घामजस्त‌ै छर्लङग भएको बताइन् । महानगरमा सफल रुपमा उपप्रमुखको जिम्मेवारी निर्वाह गरेकी गुरुङले संघियतालाई कार्यान्वयन तहमा लैजान यो पाँच वर्ष कोषेढुंगा सावित भएको बताइन् ।

उनले महानगरमा प्रकृयामा रहेका र बाँकी रहेका कामलाई पुरा गर्नकाे लागि आफ्नाे उम्मेदवारी रहेकाे बताउँदै सात सूर्यमा सात छाप लगायर एमाले सम्पूर्णका उम्मेदवारलाई विजयी बनाउन मतदातालाई अनुराेध गरिन् ।

कार्यक्रममा पाेखरा २५ मा एमालेकाे तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार तिर्थबहादुर थापा, सदस्य सुवास भण्डारी,कृष्णबहादुर कुवँर, महिला सदस्य धनकुमारी पाेख्रेल तिमिल्सिना, दलित महिला सदस्य तारा विश्वकर्माकाे परिचय गराईएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्