
पोखरा ।
सेनिटरी प्याडको उपलव्धता र प्रयोगबारे पोखरा महानगरले पोखराका सामुदायिक विद्यालयमा अनुगमन गरेको छ ।
विद्यालय स्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति संयोजक तथा पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा गएको टोलीले शुक्रबार विद्यालयहरुमा अनुगमन गरेकोे हो ।
पोखरा ८ रत्नचोकको जनप्रिय माध्यमिक विद्यालय, पोखरा १० रामबजारस्थित कालिका माध्यमिक विद्यालय र पोखरा १० को अमरसिहं माध्यमिक विद्यालयमा अनुगमन गरेको हो ।
नेपाल सरकारले बनाएको कार्यविधि अनुरुप सेनिटरी प्याड खरिद प्रक्रिया, वितरणको अवस्था, व्यवस्थापन लगायतका विषयमा अनुगमन गरिएको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख अधिकृत जीवन रेग्मीले जानकारी दिए ।
महानगरपालिकाले वार्षिक रुपमा उपलब्ध गराउने बजेटलाई सही ढगंले सदुपयोग गरेको पाइएको उनको भनाई छ ।
सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ६ देखि १२ कक्षासम्मका छात्राहरुको संख्या यकिन गरी रकम उपलब्ध गराइने शिक्षा शाखा प्रमुख रेग्मीले जानकरी दिए ।
विद्यालय प्रशासनले चार, पाँच कक्षामा पढ्ने केही छात्रालाई पनि प्याडको आवश्यकता पर्ने भएकाले महानगरबाट उपलब्ध हुने रकमले अपुग हुने गरेकोे, खरिद गर्दा गुणस्तरमा लगायतका समस्या हुने गरेको जानकारी गराएका थिए भने सेनीटरी प्याड उपलव्ध हुन थालेपछि आफुहरुलाई सहज भएको छात्राहरुको भनाई थियो ।
उपप्रमुख गुरुङले कार्य विधिमा विद्यालयहरुमा अनिवार्य समिती गठन गर्नुपर्ने व्यवस्था भएको बताउँदै सामान खरिद गर्दा समितिका सदस्यलाई अनिवार्य सहभागी गराउनु पर्ने, फोकल पर्सन तोक्न र विद्यार्थीलाई पनि सहभागी गराउन सुझाव दिएको उनको भनाई छ ।
अनुगमनमा महानगर लेखा अधिकृत नवीन कुमार बराल, शिक्षा महासाखा लेखापाल सन्तोषी पौडेल, समिती सदस्य एवं सहारा बाल आधारभुत विद्यालय पोखरा ९ बसपार्कका प्रधानाध्यापक लोचना अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकारले अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न, गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न र महिनावारी व्यवस्थापन सामग्रीको दिगो विसर्जन तथा पुनःप्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्नेतर्फ उत्प्रेरित गर्ने यद्धेश्यले सामुदायिक विद्यालयमा ‘सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति कार्यविधि २०७६’ कार्यक्रम संचालन गरेको छ ।