पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा चण्डिका आमा समुहको आयोजनामा शनिबार निशुल्क नाक, कान र घाँटी परीक्षण र औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्राविधिक सहयोग श्री कृष्ण ई.एन.टी. केयर प्रा.लि., नयाँबजारले गरेको थियो भने पोखरा महानगरपालिका वडा नं. ९ कार्यालयको सहकार्यमा सेवा प्रदान गरियो।
कार्यक्रमको उद्घाटन पोखरा ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले गरे। उनले कार्यक्रमका प्रमुख अतिथि सरस्वती कोइरालालाई प्रिकृप्सन हस्तान्तरण गर्दै वडास्तरीय वृहत कार्यक्रमका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
श्री कृष्ण ई.एन.टी. केयर प्रा.लि. का प्रवन्ध निर्देशक तथा मनिपाल हस्पिटलका नाक, कान, घाँटी रोग प्रमुख प्रा.डा. कृष्ण कोइरालाले नाक, कान र घाँटीमा समस्या देखापरेमा के गर्ने र के नगर्ने बारे प्रशिक्षण दिएका थिए।
कार्यक्रम संयोजक चण्डिका आमा समुहकी सदस्य तथा श्री कृष्ण ई.एन.टी. केयर प्रा.लि. की व्यवस्थापक गौरी कोइरालाले यस प्रकारका कार्यक्रम भविष्यमा पनि निरन्तर आयोजना गर्ने बताए।
आमा समुहकी अध्यक्ष सिता नेपालीले सबैको सहयोगमा कार्यक्रम सफल भएको बताउँदै वडा कार्यालय र डाक्टरहरूका प्राविधिक टोलीलाई धन्यवाद दिएकी थिइन्।
कार्यक्रमको संचालन चण्डिका आमा समुहकी सचिव मिना सिग्देलले गरिन्। कार्यक्रममा १८० भन्दा बढी सेवाग्राहीले नाक, कान र घाँटीको परीक्षण र उपचार सेवा लिएका थिए।