मनाङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित मनाङका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन्।
मुख्यमन्त्री पाण्डेले चामे पुगेर स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालय प्रमुखहरूसँग छलफल गरेका हुन्। छलफलमा बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानीलगायत पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन तत्काल आवश्यक काम अघि बढाउने विषयमा छलफल भएको थियो।
केही दिनअघि ठाडो खोलामा आएको पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि जोखिममा परेको क्षेत्रको समेत मुख्यमन्त्री पाण्डेले स्थलगत अवलोकन गरेका छन्। अहिले पानी बगिरहेकाले जोखिम केही कम देखिए पनि खोलामा थुप्रिएको ग्राभेल र ठूला ढुंगाका कारण आसपासका घर जोखिममा छन्। पक्की पुलसमेत पुरिएको छ। खोलाको बहाव सहज बनाउन काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए।
निरीक्षणका क्रममा स्थानीयवासीसँग प्रत्यक्ष भेट गरी उनीहरूका समस्या र आवश्यकता सुनेका मुख्यमन्त्री पाण्डेसमक्ष सडक तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलगायतका विषयमा माग राखिएको थियो।
स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेले बताए।
‘अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने हो,’ उनले भने, ‘प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय गरेर तत्काल गर्न सकिने काम अघि बढाउँछौँ र थप आवश्यक सहयोगका लागि संघ सरकारसँग समन्वय गर्छौँ।’
चाडपर्व नजिकिँदै गएको अवस्थालाई समेत ध्यानमा राखेर स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई प्राथमिकतामा राखिएको उनले बताए।
बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अवस्था बुझ्दै मुख्यमन्त्री पाण्डेले विपद्को समयमा उद्धार, राहत, उपचार र पुनःस्थापनासँगै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई समेत प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढिरहेको बताए।
यसअघि मंगलबार मुख्यमन्त्री पाण्डेले बागलुङ, म्याग्दी र पर्वतका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।









