नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिकाः प्रदेश प्रमुख भट्ट

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले नागरिकलाई सुसूचित गराउन स्वतन्त्र प्रेसको अहम् भूमिका रहेको बताए
का छन् ।उनले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न नेपाली प्रेस जगतलाई थप प्रेरणा र हौसला मिलोस् भन्ने कामना पनि गरे ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको चौथो वार्षिक साधारणसभालाई पोखरामा सम्बोधन गर्दै उनले लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अग्रज पत्रकार तथा पत्रकारिता जगतले खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गरे ।

‘नेपाली पत्रकारले दबाब र अभावसँग सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवाभाव अनुकरणीय छ ।’ प्रदेश प्रमुख भट्टले भने – ‘सामाजिक उत्तरदायित्व बहन गर्दै सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गर्ने जिम्मेवारीलाई आत्मसाथ गरी सत्य, निष्पक्ष, सन्तुलित र मर्यादित रुपमा सूचना प्रवाह गर्नु पत्रकारिताको धर्म र जिम्मेवारी पनि हो ।’

ुउनले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना भएको उल्लेख गर्दै डिजिटल मिडियाको अत्यधिक सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता अभिवृद्धि गर्ने दिशामा पत्रकार स्वयं क्रियाशील हुनेमा विश्वस्त रहेको बताए ।

पत्रकारिताका नयाँ आयाम र प्रविधिको प्रयोगबारे पत्रकारलाई दक्ष बनाउनका लागि राज्यको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रदेश प्रमुख भट्टले सत्य तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी रहेको उल्लेख गरे ।

विश्वव्यापी आर्थिक संकटको संवेदनशील घडीमा सञ्चारजगत र पत्रकारिता पेशालाई पारेको असरबारे आफू जानकार रहेको र आर्थिक सङ्कटले सञ्चारसंस्थाहरूको दिगोपनामा समस्या पार्ने खतरा देखापरिसकेको तथा नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या रहेको बताए ।

नेपाली सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् भन्ने शुभेच्छा राख्नुभयो । उनले भने – ‘पत्रकारिता क्षेत्रमा म आफै संलग्न रही नजिकबाट चिनेको छु। २०३८ सालमा सुदूर पश्चिमको पहिलो पत्रिका भीम सन्देश त्रैमासिकको संस्थापक सम्पादक भएर पत्रकारिताको अनुभव बटुलेको छु।’

गण्डकी प्रदेशको प्रदेश प्रमुख नियुक्तिपछि पहिलो विधेयक प्रमाणिकरण पत्रकार सम्बन्धित आमसञ्चार ऐन २०८० रहेको स्मरण गर्दै उहाँले यो ऐन पत्रकारहरुकै प्रत्यक्ष सहभागिता र आवश्यकताका आधारमा निर्माण भएको उल्लेख गरे।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको बताउँदै भट्टले संवैधानिक रूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि प्रतिबद्ध रहेको जनाए ।

श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै सञ्चार संस्था तथा पत्रकारहरुको सबिलकरणको दिशामा काम अघि बढोस् भन्ने कामना पनि गरे ।

भट्टले सम्पूर्ण श्रमजीवीलाई आज अन्तर्राष्ट्रिय श्रमिक् दिवस, पर्सी मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस र वैशाख २४ गते मनाइने नवौं राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्