फेवाताल र रानीवन मास्ने गरी पदमार्ग निर्माण गर्न सरकारी वजेट,अख्तियारमा उजुरी (फोटो फिचर)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

तिर्थ के.सी./पोखरा ।
फेवाताल र रानीवन मास्ने गरी पदमार्ग निर्माण गर्न सरकारी वजेट लगानी गरेको पाईएको छ । पोखरा महानगरपालिका वडा नं. २२ अन्तर्गतको रानीवनभित्र (फेवाताल पारी) राउण्ड फेवा भ्यू फेवा क्लोज सर्किट फूट ट्रेक निर्माण उपभोक्ता समितिमार्फत सरकारी वजेटमा फूट ट्रेक निर्माण गर्न लागिएको हो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको ५० लाख रुपैयाँ लागत र झण्डै साढे ५ लाख रुपैयाँ जनसहभागिताबाट लगानी गर्ने गरी सम्झौता भएको छ ।

तर जुन कार्यालयको लगानीमा फूट ट्रेक निर्माण गर्न लागिएको हो त्यहाँ कार्यालयका निर्देशक इश्वरी रेग्मी दुई महिनादेखि निर्माण स्थल पुगेका छैन् । जुन कुरा निर्देशक रेग्मी आफैले स्वीकार गरेका छन् । स्थलगत निरिक्षणमा किन नजानुभएको ? भन्ने प्रश्नमा रेग्मीले कार्यव्यस्ताले जान नपाएको बताए ।

तालको किनार नजिकै वन क्षेत्रमा ताल किनारको ढुङ्गा र गत साल पहिरो गएको ठाउँको ढुङ्गासमेत निकालेर फूट ट्रेक बनाईरहेको स्थलगत अध्ययनमा देखिन्छ । यस बारेमा निर्देशक इश्वरी रेग्मी अनविज्ञ देखिन्छन् ।

विश्वशान्ति जैविक विविधता उद्यानको स्वामित्वमा रहने गरी (नियमित अनुगमन गरी विभागमा प्रतिवेदन पेश गर्ने) सम्झौतामा उल्लेख छ । तर पछिल्लो १० दिनदेखि उद्यानका प्रमुख धर्मराज कोईराला समेत स्थलगत अनुगमनमा गएका छैनन् ।


वर्षेनी फेवाताल पुरिदै जाने र मानविय अतिक्रमणको चपेटामा परेको रामसार सूचीमा सूचीकृत ताल वरपर फूट ट्रेक खोल्नु गम्भीर चिन्ताको विषय भएको नागरिक समाजका अगुवाहरुको बताउँछन् ।
तालका साथै जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र मानिने रानीवनलाई समेत प्रत्यक्ष असर पुग्ने गरी उपभोक्ता समितिले निर्माण गरेकोले वातावरण विरोधी गतिविधि भइरहेको भन्दै वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले शुक्रवार अख्तियारमा उजुर दिएका छन् ।


यसअघि नागारिक समाज कास्कीको पहलमा बिहीबार वातावरणविद्, संरक्षणकर्मी, सामाजिक अभियन्ता लगायत सञ्चारकर्मी सम्मिलित टोलीले सो क्षेत्रको निर्माणधिन फूट ट्रेकको स्थलगत निरिक्षण गरेको थियो ।

निरीक्षण अनुसार भू–क्षय हुने गरी वनक्षेत्रको ढुङ्गाखानी प्रयोग गरेको पाइएकोले यस्तो गतिविधिले फेवातालको आयु घटाउने लगायत रानीवन र त्यहाँ आश्रित दुर्लभ वन्यजन्तुलाई प्रतिकूल असर पार्ने प्रबल सम्भावना देखिएकोले निर्माणाधीन पदमार्ग योजनालाई तत्काल रोक्का राखी गम्भीरतापूर्वक छानविन गर्नको लागि अख्तियारमा उजुरी दिएको वातावरण संरक्षणका लागि महाअभियान कास्की संयोजक रामबहादुर पौडेलले बताए ।

उनका अनुसार निर्माण कार्यमा वातावरणीय प्रभाव मूल्यांकनको न्यूनतम सिद्धान्त समेत पालना गरिएको छैन् ।

पर्यटन प्रवर्द्धनका नाममा वनक्षेत्रको कमजोर भू–बनोट एवं ढुङ्गाखानीको अत्यधिक दोहनसगै दुषित मनसायले योजना प्रस्ताव गरिएको नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको भनाई छ ।

रानीवन तथा फेवातालको संवेदनशीलताको ख्यालै नगरेकोले पदमार्ग निर्माण रोक्नुपर्ने नागरिक समाज कास्कीका संयोजक लालचन बताउँछन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्