‘निर्वाचनपछि समानन्तर गतिविधि गर्नु महाअपराध हो’ : खगराज अधिकारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न एकतावद्ध बलियो पार्टी आवश्यक भएको बताएका छन् ।

नेकपा (एमाले) कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा आयोजना गरेको सहिद कृष्ण बहादुर भुजेलको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई सुदृढ र बलियो बनाउन संवेदनशील बन्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

केही नेता तथा कार्यकर्ताबाट पार्टी विरोधी गतिविधि भइरहेका भन्दै उहाँले असन्तुष्टी जनाए । ‘फेसबुकमा एमाले विरोधी अभियान चलाइएको छ, अराजकता फैलाइएको छ, बहालवाला स्थानीय कमिटीकै पदाधिकारीले त्यो काम गरिरहनुभएको छ’उनको दावी थियो ।

निर्वाचनपछि समानन्तर गतिविधि गर्नु भनेको महाअपराध हुने भन्दै त्यस्ता गतिविधि नगर्न सचेत गराउनुभयो । ‘चुनाव पछि समानन्तर गतिविधि गर्नु भनेको महाअपराध हो त्यस्तो काम गर्नु हुँदैन’ उनले भने ।
पार्टीले अगालेको सिद्धान्त अनुसार व्यक्तिको मानसिकतामा परिवर्तन नआउँदा समस्या भएको उनको बुझाई छ ।
उहाँले हालको सक्ता समीकरणलाई बलियो बनाउदै लैजानुपर्ने बताउनुभयो । ‘हामीले गर्न खोजेको समीकरण हो पार्टी एकता होइन, पार्टी एकताको आवश्यकता व्यवहारले गर्दै गयो भने हुनेछ’ उनले थपे ।

सहिद परिवार पार्टीप्रति दृढ रहेकै कारण पार्टी यहाँसम्म आइपुगेको भन्दै सबैले सहिद तथा उनका परिवार सम्झेर उनीहरुले देखेका सपना पुरा गर्न ध्यान दिनुपर्ने बताए ।

सहिद कृष्ण भुजेल स्मृति प्रतिष्ठान कास्कीका संयोजक विष्णु बरालले प्रतिष्ठान मार्फत गर्न खोजेका कामको बारेमा जानकारी गराए । प्रतिष्ठानले ५ लाख रुपैयाँको अक्षयकोष निर्माण गर्ने लक्ष्यका लिएको छ । कोषको लागि आफ्नो एक महिनाको तलब उपलब्ध गराउने प्रतिवद्धता मुख्यमन्त्री अधिकारीले गरे । सोही कार्यक्रम मार्फत सहिद कृष्ण बहादुर भुजेल स्मृति छात्रवृक्ति लक्ष्मी माविकी छात्रा मनिषा सुवेदी र जनज्योती माविकी छात्रा आशिका पौडेललाई हस्तान्तरण गरियो ।

नेकपा (एमाले) कास्की जिल्ला कमिटीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा, उपाध्यक्ष भेषराज बरालले स्वागत तथा सचिव दर्शन लामाले कार्यक्रम सञ्चालन गरेका थिए ।

तत्कालिन राखी गाविसका भुजेलमाथि २०५४ साल जेठ ४ गते पोखरा २८ कालिका झाँझरमारेमा साङ्घातिक आक्रमण भएको थियो । आक्रमणबाट सख्त घाइते हुनुभएका भुजेलको उपचारको क्रममा जेठ ८ गते १७ वर्षको उमेरमा निधन भएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्