तारा पौडेल/पोखरा । बुधवार अन्तर्राष्ट्रिय जैविक विविधता दिवसः पोखराको रानीवनमा वृक्षारोपण गरी मनाईएको छ । वन निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि तथा पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुद्धारा रानीवनमा रहेको विश्व शान्ति जैविक विविधता उद्यानमा वृक्षारोपण गरी दिवस मनाईएको हो । त्यहाँ अमला, रुद्राक्ष, निम, गुलमोहर, पारीजात, पैयुँ, तेजपात लगायतका विरुवाहरु रोपिएको छ ।

हरेक वर्ष मे २२ तारिखका दिन विश्वभर मनाईने यो दिवस यस वर्ष ‘योजनाको हिस्सा बन्नुहोस’ भन्ने नारासहित विश्वभर मनाईएको हो । जुन नारा जैविक विविधता सम्बन्धी महासन्धिको सचिवालयले तय गरेको थियो ।
जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातीय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।

पोखराको रानीवनमा भएको कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कंडेलले जैविक विविधता र भौगोलिक विशिष्टताका हिसाबले नेपालको अलग्गै पहिचान भएको बताए । उनले नेपालमा जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार व्याख्या गरिएको छ बताउँदै नेपाल जैविक विविधताको हिसावले एसियामा ११औँ र विश्वमा २५औँ स्थानमा पर्ने जानकारी दिए ।
वन निर्देशनालयका निर्देशक रामकाजी श्रेष्ठले प्रकृतिको अनुपम उपहार जैविक विविधतालाई संरक्षण गर्न तथा जोगाउन यस्ता खालका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले बन्द कोठामा गरिएका कार्यक्रमले भन्दा फिल्डमा गरिने कार्यक्रम जानकारीमूलक र प्रभावकारी हुने भएकोले भविष्यका कर्णद्धार विद्यार्थीहरुलाई नै फिल्डमा गएर वृक्षारोपण गर्न लगाई जैविक विविधताको महत्वका विषयमा जानकारी गराएको बताए । फिल्डमा गएका विद्यार्थीहरुले विद्यालय, घरपरिवार तथा समाजमा जैविक विविधताको महत्व र संरक्षणका विषयमा जानकारी गराउने श्रेष्ठको विश्वास छ ।

पछिल्लो समय प्राकृतिक घट्ना तथा मानवीय कृयाकलापबाट पनि जैविक विविधतामा असर परेकोमा चिन्ता व्यक्त गर्दै वन निर्देशक श्रेष्ठले जैविक विविधतामा हरेक प्रजातिको आ–आफ्नै महत्व हुने उल्लेख गरे । एउटा प्रजाति मात्र लोभ भयो भने वातावरणीय सन्तुलन विग्रन गई त्यसको प्रत्यक्ष असर मानव जगतमा पर्ने भएकोले जैविक विविधताका हरेका प्रजातिको संरक्षण तथा संवद्र्धन गर्न हामी सबैको कर्तव्य रहेको उल्लेख गरे ।
कार्यक्रममा पोखरा २२ का वडा अध्यक्ष निमलाल बराल, वरिष्ठ वन अधिकृत करुणा कार्की तथा विद्यार्थीहरु बन्दना अधिकारी, जेसिका थापा, मेलिना सारु मगर लगायतले जैविक विविधताको बारेमा बोलेका थिए ।

कार्यक्रममा पोखरा वन विज्ञान अध्ययन संस्थानमा विएससीमा अध्ययनरत विद्यार्थीहरु, ओम एकेडेमी, मदरल्याण्ड मा.वि., साईनिङ स्टार र स्पाईरल ग्यालेक्सीमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीहरु र जैविक विविधतामा सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
विश्वमा जैविक विविधताको महत्वलाई दर्साउन सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यासको थालनी भएको हो ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने निर्णय गरेको थियो । त्यसलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्र संघकोे महासभाको बैठक निर्णय नम्बर ५५ र २०१ ले थप अंगीकार गरी प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।











