
पोखरा । पोखरा रंगशालाको बक्सिङ रिङमा यहि जेठ १८ गते बक्सिङ प्रतियोगिता हुने भएको छ । जसको रेकर्ड बक्सिङको अन्तराष्ट्रिय आधिकारिक संस्था आइबामा रहने छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना कास्की जिल्ला बक्सिङ संघ तथा नेपाल बक्सिङ महासंघको व्यवस्थापनमा प्रतियोगिता आयोजना गर्न लागको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८०, ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरी महिला तर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको हो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष गणेशबहादुर भट्टराई र पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले खेलाडीहरु रिङमा अब्यस्त भईरहे अन्तराष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहज हुने हुदाँ यस्ता प्रतियोगिता निरन्तर हुनु पर्नेमा जोड दिए ।
त्यस्तै बक्सिङ संघ गण्डकीका अध्यक्ष एंव यस प्रतियोगिताका संयोजक विद्या मर्सानीले पोखराको बक्सिङ खेलकै इतिहासमा पहिलो पटक आइबामा रेकर्ड हुने प्रतियोगिता पोखरामा आयोजना गर्न लागेकोमा खुसी व्यक्त गर्दे सबैलाई प्रतियोगिता सफल बनाउन सहयोगको अपिल समेत गरे ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा बक्सिङ खेल तर्फका पदक विजेता गण्डकी प्रदेशका खेलाडी निश्चल गुरुङ,विभागिय खेलाडी र अन्य राष्ट्रियस्तरका बक्सिङ खेलाडीहरु समेत प्रतियोगितामा सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता बक्सरले नगद २० हजार र उपविजेताले नगद १० हजार ,प्रमाणपत्र र पदक प्राप्त गर्ने छन । त्यस्तै उत्कृष्ट बक्सर महिला तथा पुरुषले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । पोखरा महानगरपालिकाको ४ लाख रुपैयाँ आर्थिक सहयोग रहने प्रतियोगितामा १२ लाख रुपैयाँ खर्च हुने अनुमान अयोजकले गरेको छ ।
आइबा
फुटबलको अन्तराष्ट्रिय आधिकारी संस्था फिफा भने जस्तै बक्सिङको आधिकारीक अन्तराष्ट्रिय संस्थालाई “आइबा” भनिन्छ ।