‘कामबाटै जवाफ दिएर प्रदेशको औचित्य पुष्टि गरौं’: खगराज अधिकारी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।

सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त हुनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको बारेमा आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन आग्रह गरेका छन् । सत्रौं गणतन्त्र दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा आयोजना गरेको मुल समारोहमा बोल्दै प्रदेश स्थापना पश्चात गण्डकी प्रदेशमा उर्जा, खानेपानी, सञ्चार, कृषि पर्यटन लगायतका क्षेत्रमा जनताले महशुस गर्नेगरी सकारात्मक परिवर्तन आएको दावी गरे । प्राप्त उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नभएपनि जनताबाट आएको टिप्पणीलाई ध्यान दिँदै अगाडि बढ्नुपर्ने बताए ।

‘हामी गर्न सक्छौं, आँटौ, गम्भिरतापूर्वक अगाडि बढौं, हामीले नबनाए कस्ले बनाउँछ? अहिले नबने कहिले बन्छ? यो आँट र जोसका साथ अनैकौं टिप्पणीलाई सम्मान गर्दै कामबाटै जवाफ दिएर प्रदेशको औचित्य पुष्टि गरौं’ उनको आग्रह थियो ।

गण्डकी प्रदेश सुसाशन र पुँजीगत खर्च बढाउन अगाडि रहेको र सार्मथ्यमा पनि विस्तारै अगाडि बढेको सुनाए ।
अर्को प्रसंगमा अदालतको एउटा बेन्चले गरेको निर्णय अर्को बेन्चले खण्डन गर्दा फुल बेन्च आवश्यक पर्ने भन्दै सर्वोच्चको सोमबारको आदेशप्रति गुनासो गरे ।

‘हिजो डिभिजन बेन्चले नै मलाई वैध बनाएको हो, यो, नियुक्ति ठिक छ भन्यो । अहिले त्यो बेलाको खण्डन गर्न अदालतको प्रक्रियामा पनि फुल बेन्च आवश्यक छ भन्ने मैले बुझेको हो । व्याख्या गर्नेले त्यसलाई खण्डन गर्न अर्को फुलकोर्ट पनि चाहिनुपर्ने हो, कि मैले बुझिन, बुझ्ने कोसिस गर्ने छु, अदालतप्रति मेरो उच्च सम्मान छ।’ उनले भने ।

प्रदेशसभामा अहिलेपनि ३१ जनाको साथ आफूलाई भएकाले आफ्नो पक्षमा स्पष्ट बहुमत भएको जीकिर गरे । आफूले संविधानलाई साधक बनाउनुपर्छ, बाधक बनाउनुहुन्न भन्दै आएको उनले बताए। ‘निर्णायक मत बराबर भएको बेलामा मात्र प्रयोग गर्ने हो । ६० जना भएको ठाउँमा बराबर हुँदैन भन्ने दुनियाले बुझेको छ’ उनले भने । यसको लागि संवैधानिक व्याख्या आवश्यक पर्ने उनको भनाई थियो ।

अधिकारीले सर्वोच्चको परमादेश आउनेविक्तिकैदेखि मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी नचढेको बताए । ‘नियममा सपथ गर्ने र हस्तान्तरण गर्ने हो, तर म त्यसभन्दा पहिल्यै नै सचेत छु’ उनले प्रष्ट पारे । कार्यक्रम स्थलमा पैदल आउनुभएका उनी पैदल नै फर्किएका थिए ।

गणतन्त्रमा स्वच्छ छवी अर्को आवश्यकता हुने भन्दै पूर्व मुख्यमन्त्रीको हैसियतले दबाब नदिने तथा आफूलाई तोकिएको बाहेक अरु गाडी नचढ्ने प्रतिवद्धता उनले जनाए ।

सरकार बाहिर रहँदा आवेग उत्तेजनामा नजाने तर अनुचित कुरा स्विकार नगर्ने उनले खुलाए । ‘हामी कुनै प्रतिक्रिया, आवेग, उत्तेजनामा जाँदैनौ । यो प्रदेश प्रतिको जिम्मेवारी हामीमा छ । हामी कहींपनि बहिष्कार गर्दैनौ । अनुचित कुरा स्विकार पनि गर्देनौं । कुर्सी खाली गर्नूपरेको अवस्थामा गम्भिरतापूर्वक तीनपटक सोच्छौं ’उनले भने ।

गण्डकी प्रदेशका प्रदेशप्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकी सचिव यमुना प्रधान लगायतले गणतन्त्र दिवसको सन्दर्भमा बोलेका थिए ।

औपचारिक कार्यक्रम सुरु हुनु अगाडि सहिदचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्म प्रभातफेरि कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानले सांस्कृतिक प्रस्तुती राखेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्