
पोखरा ।
डिभिजन वन कार्यालय कास्कीले विकास र वातावरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले विकास र वातावरण क्षेत्रको उचित समन्वय विना सन्तुलित विकासको अवधारणा सम्भावना नहुने र सन्तुलित विकास विना दिगो विकासका लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताए ।
पौडेलले विकासका नाममा हुने वन र वातावरण क्षेत्रको बिनासले गम्भीर समस्यातर्फ मानव सहित सम्पूर्ण जीवजन्तु उन्मुख हुनुपरेको तर्फ इङ्गित गर्दै संरक्षण मैत्री उपभोग नितिमा केन्द्रित हुन पालिकाहरूलाई आग्रह गरे ।
वातावरणीय प्रभाव मुल्यांकनलाई अनिवार्य कडाइका साथ लागू गरेर बिकासका गतिबिधि अगाडि बढाउनुपर्ने पौडेलको भनाई छ ।
कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले विकास र वातावरणको बिचमा देखिएका असन्तुलित विकासका क्रियाकलाप न्यूनीकरण गर्न बैठक आयोजना गरिएको उल्लेख गरे ।
कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले वातावरण मैत्री सन्तुलित विकासका लागि स्थानिय तहको भुमिका विषयमा चर्चा गरेका थिए ।
मानविय क्रियाकलाप का कारण हावापानी सहित इकोसिस्टम, वायुमण्डलिय उष्णता बढ्न पुगि जैविक विविधतामा प्रतिकुल असर पारेको उल्लेख गर्दै पालिकाहरूको वतावरण संरक्षणका निम्ति चाल्नुपर्ने कदमको बारेमा प्रकाश पारेका थिए ।
सन २०४५ सम्म नेपालले कार्वनमुक्त देश निर्माणको नीति लिएको भन्दै उनले त्यसको लागि स्थानिय पालिका र सरोकारवालाको भुमिका महत्वपूर्ण हुने बताए ।
डिभिजनल वन अधिकृत काफ्लेले कास्की जिल्लामा वन व्यवस्थापन पद्वती, डिभिजन वन र संरक्षण कार्यक्षेत्र, सृष्टि र जीवनका ५ आधारहरु, दिगाे विकासका लक्ष्यहरु, वन क्षेत्रमा स्थानिय तहकाे भूमिका लगायतका विषयमा प्रस्तुती राखेका थिए ।
कार्यक्रममा जि .स .स. कास्कीका उप प्रमुख सरिता माल , डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतम, कास्कीका विभिन्न पालिकाहरूका अध्यक्ष, वडाध्यक्ष, फेकाेफनका प्रतिनिधि जिल्ला समन्वय समिति कास्कीका सदस्यहरू सहित विकास वन र वातावरण क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो ।
कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिभिजन वन अधिकृत राजेन्द्रप्रसाद शर्माले गरेका थिए ।