
काठमाडौं । मुलुकको नयाँ प्रधानमन्त्रीमा दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् ।
नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका छन् ।
राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । ‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।