
पोखरा । आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् ।
व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय विना थापा मगर ‘बिनु’ र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । अन्दोलनकारीले सुरज सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।
पृथ्वीचोकमा पर्यटक बस चलाएको भन्दै बसमाथि तोडफोड गर्न लागेका बेला क्यामेराले दृश्य कैद गर्दैगर्दा आफूहरुमाथि आक्रमण भएको सञ्चारकर्मी सुरजले बताए । घटनापछि आक्रमण गर्ने विरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगे ।
पत्रकारद्वयमाथि भएको आक्रमणको पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् ।
पत्रकार महासंघ केन्द्र, गण्डकी, कास्कीसहित प्रेस चौतारी, प्रेस सेन्टर, फोनिज, मगर पत्रकार संघ, स्वतन्त्र पत्रकार संघ लगायतले विज्ञप्ति जारी गरेका छन् ।