पोखरामा पत्रकार कुटपिट गर्ने ४ जना पक्राउ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । यातायात व्यवसायीको आन्दोलनका क्रममा रिपोर्टिङमा खटिएका पत्रकारमाथि आक्रमण गर्नेमध्ये ४ जनालाई जिल्ला प्रहरी कार्यालय, कास्कीले पक्राउ गरेको छ ।

पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि सांघातिक आक्रमण गरेको आरोपमा सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत पक्राउ परेका हुन् ।

अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले बताए । एसपी थापाले भने, ‘यो घटनामा संलग्नलाई अभद्र व्यवहार कसुरमा मुद्धा चल्छ ।’

पत्रकारद्वयमाथि आक्रमण भएपछि पत्रकारहरुले प्रहरी कार्यालयमा गएर जाहेरी दिएका थिए । पत्रकार सम्बद्ध संघसंस्थाका नेतृत्वसमेत प्रहरी कार्यालय गएर प्रहरी प्रमुख थापासँग यस विषयमा बुझेका थिए ।

यातायात व्यवसायी महासंघले नै भन्यो: हमला गर्नेलाई कारवाही गरियोस्

उक्त घटनाप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, गण्डकी प्रदेशले दुख व्यक्त गर्दै सांघातिक हमलामा उत्रने जो कोहीलाई कारवाही दायरामा ल्याउन माग गरेको छ ।

महासंघका प्रदेश सचिव योगेन्द्र बहादुर केसीले व्यवसायीहरु शान्तिपूर्ण आन्दोलनमा रहेकाले आपराधिक क्रियाकलाप गर्ने कसैलाई महासंघले बचाउ नगर्ने बताए ।

‘दुई जना पत्रकारमाथि कुटपिट भएको घटनामा हामी दुखि छौं । कुटपिटमा संलग्नलाई हामीले बचाउ गर्ने भन्ने छैन । कानूनी कारवाही होस् भन्ने कुरामा प्रष्ट छौं ।’ केसीले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्