
राष्ट्रिय वन क्षेत्रमा पर्ने उक्त वनमा बनाएको संरचना हटाउनको लागि बल बहादुर विश्वकर्मालाई पटक पटक पत्राचार गरे पनि पत्रलाई वेवास्ता गरि संरचना नहटाएकोले डिभिजन वन कार्यालय कास्कीको टिमले वडा प्रहरी कार्यालय वैदामको टोली र स्थानिय जनप्रतिनिधिको रोहवरमा पूर्व सूचना दिएर संरचना हटाइएको डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरि प्रसाद गौतमले जानकारी दिए ।
उनले मानव अस्तित्वको लागि पर्यावरण संरक्षण गर्नुपर्ने , वन तथा वातावरण जोगाउने सबैको दायित्व भएको बताए ।
यस अघि सामूदायिक वन उपभोक्ता समूहको प्रयासले संरचना हटाउन नसकेपछि डिभिजन वन कार्यालयसँग आवश्यक सहयोगको लागि अनुरोध गरेको थियो ।
बल बहादुर विश्वकर्माले दुई वर्ष अगाडी बनाएको संरचना पनि वन कार्यालयले भत्काएको गाैतमकाे भनाई छ । र, पनि पुन उनले सोहि स्थानमा घर, टहरा र आरन बनाएका थिए ।

तर सो सामूदायिक वनको उपभोक्ता समितिका अध्यक्ष गिरिराज अधिकारीको गैह्रजिम्मेवारपनले गर्दा पटक पटक सोही ठाउँमा सोही व्यक्तिले घर बनाएर बसेको समितिका व्यक्तिहरु नै बताउँछन् ।
स्थानियका अनुसार बल बहादुर विश्वकर्मा सुकुम्वासी पनि होईनन् । बल बहादुरको घरमा जुवा खेल्ने, होहल्ला गर्ने लगायतका अस्वभाविक गतिविधिले समाजमा असहज वातावरण सिर्जना भएको स्थानियको समेत गुनासो छ ।
शिवमणी सामूदायिक वन उपभोक्ता समितिका सचिव तुलसी दाहालले कयौं प्रयास गर्दा पनि वन अतिक्रमण गरि संरचना बनाउने बल बहादुर विश्वकर्माले आफ्नो टहरा नहटाएकोले वन कार्यालयको सहयोग लिनु परेको बताए ।
उनले विगतका दिनमा सो स्थानमा समिति र स्थानियले आरन बनाई सेवा गर्न मौखिक सहमति दिएको तर सहमति विपरित निज विश्वकर्माले अटेर गरी घर बनाएर बसेको उल्लेख गरे ।
बल बहादुर विश्वकर्माले भने चार वर्ष अगाडी बनाएको संरचना अहिले आएर भत्काएको भन्दै दुखेसो गरेका थिए ।
तर वन ऐन २०७६ मा सामुदायिक वन क्षेत्रभित्र घर टहरा बनाई आरन सञ्चालन गर्न वन ऐन विपरित कार्य हुने उल्लेख छ ।