पोउवाको ३५ औं महाधिवेशनमा कार्कीद्वारा अध्यक्षको उम्मेदवारी घोषणा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ७० औं साधारण सभा तथा ३५ औं महाधिवेशनबाट नेतृत्वमा पुग्न व्यावसायिक नेताहरुले आन्तरिक तयारी र छलफललाई तिब्र बनाएका छन् ।

यसैक्रममा संघको अध्यक्षका लागि पोखरा उद्योग वाणिज्य संघका हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बिहिबार अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

५० को दशकपछि संघसँग नजिक हुने मौका मिल्यो । त्यसपछि निरन्तर उद्योगी, व्यवसायीको हकहितको पक्षमा अडिग भएर काम गर्दै आएको छु उम्मेदवारी घोषणा कार्यक्रममा कार्कीले भने। विषम परिस्थितिमा व्यवसायीकै पक्षमा काम गर्दै आएको छु । विभिन्न पदमा रहँदा व्यवसायीका समस्या बुझ्ने र त्यसको सहजिकरण गर्दै आएको सर्वबिदितै रहेको कार्कीले बताए ।

हिजोका दिनमा पनि म हालको कार्यसमितिमा रहेका साथीहरुसंग संगै काम गरे, बाहिर रहेकाहरुसंग पनि काम गरे । अहिलेको कार्यसमितिका साथीसंग काम गर्दै आएँ । भविष्यका दिनहरुमा पनि पदमा हुँदा वा नहुँदाको अवस्थामा साथीहरु, व्यवसायीसंगै अगाडी बढ्ने मेरो प्रतिवद्धता रहेको छ ।

यसपटक ३५औं महाधिवेशको लागि नेतृत्वमा पुग्ने मेरो स्वाभाविक कुरा हो । यो प्राकृतिक रुपमा पाएको प्राकृतिक सिद्धान्तमा आधारीत अधिकार पनि हो । बरिष्ठ उपाध्यपछि पछाडी फर्कने ठाउँ छैन तर एकपटक मेरा लागि अध्यक्ष हुने मौका भने छ ।

कार्कीले भने, मेरा सहकर्मी साथीहरु, मैले सँगसँगै हिँड्ने प्रण गरिरहेको छु । कुनै साथीलाई काखा र कुनै साथीलाई पाखा गर्न चाहेको छैन । हिजो पनि त्यसो गरिएन र भोलि पनि सँगै हिँड्नुपर्ने साथीलाई प्रतिद्वन्द्वी खडा गराइ अप्ठ्यारोमा पार्नुभन्दा यी साथीहरु पदाधिकारी भएर आउँदा म स्वयंलाई कार्यसम्पादन गर्न सजिलो हुने मैले महशुस गरेको छु ।

अध्यक्षका प्रत्यासी कार्कीले एक्लै हिँड्नुभन्दा सहकार्यका निम्ति सबै ढोकाहरु खुल्ला राखेको बताए । वर्तमान वरिष्ठ उपाध्यक्षपछि प्राकृतिक न्यायको सिद्धान्त अनुरुप स्वभाविक रुपले अध्यक्ष पदमा आफूलाई प्रस्तुत गरेको कार्कीले पत्रकार सम्मेलनमा बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्