कास्की जिल्ला स्तरीय अन्तर मा.वि. छात्रा भलिवल प्रतियोगितामा पश्चिमाञ्चल मावि विजयी

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पश्चिमाञ्चल माविले कास्की जिल्ला स्तरीय अन्तर मा.वि. छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा पोखरा–४, गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखराकै न्यू ग्यालेक्सी माविलाई सोझो सेटमा पराजित गरेको हो । पश्चिमाञ्चलले २५–९, २५–१४ र २५–२२ को सेटमा न्यू ग्यालेक्सीलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

पोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा उपाधि हात पारेसँगै पश्चिमाञ्चलले नगद ३० हजार रुपैयाँ सहित ट्रफी हात पार्यो । क्याम्पसले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा पश्चिमाञ्चलले योसँगै लगातार तेश्रोपटक उपाधि हात पारेर ह्याट्रिक गरेको हो । उपविजेता बनेको न्यू ग्यालेक्सीले नगद २० हजार रुपैयाँ सहित ट्रफी हात पारेको छ ।

प्रतियोगिताका संयोजक विनोद आचार्यका अनुसार चार दिनसम्म चलेको प्रतियोगितामा कास्कीका निजी र सामुदायिक गरि २३ विद्यालयले भाग लिएका थिए । विद्यार्थीमा भएको खेल क्षमता प्रस्फुटन गराउनका लागि प्रतियोगिता आयोजना गरेको उनले बताए ।

विजयी विद्यालय तथा खेलाडीलाई क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, क्याम्पस प्रमुख शिशुकला पराजुली सहितले नगद, प्रमाणपत्र, मेडल तथा शिल्ड प्रदान गरेका थिए ।

खेलकुदमार्फत विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकास गर्न प्रोत्साहन गर्ने उद्देश्यले छात्रा भलिबल प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमुख पराजुलीले बताईन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि पुरस्कृत गरिएको थियो । यो संस्करणको उत्कृष्ट स्पाइकरमा न्यू ग्यालेक्सीकी दुमी सारु, उत्कृष्ट डिफेन्डरमा न्यू ग्यालेक्सीकै समीक्षा गर्बुजा पुन भए ।

त्यस्तै उत्कृष्ट ब्लकरमा पश्चिमाञ्चलकी भावना छन्त्याल, उत्कृष्ट सर्भरमा पश्चिमाञ्चलकै रेखा पाइजा, उत्कृष्ट खेलाडीमा पश्चिमाञ्चलकी सजिना बुढाथोकी भईन । त्यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा पश्चिमाञ्चलका मलिन रोका भए ।

प्रतियोगिता भाद्र ७ गते देखि क्याम्पसको खेल मैदानमा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्