टान गण्डकीकाे अध्यक्षमा आचार्य, ‘वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छ’: प्रदेश प्रमुख भट्ट

सागर ढकाल
  • ख-
  • ख+

 पाेखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन्।

टान गण्डकीको शनिवार सम्पन्न ३१औं वार्षिक साधारणसभा तथा १८ औँ अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

 दुई वर्षे कार्यकालका लागि भएकाे अधिवेशनमा प्रथम उपाध्यक्षमा तिर्थराज सुवेदी, द्वितीय उपाध्यक्षमा मोहनप्रसाद सुवेदी, सचिवमा गोपालकृष्ण सड्रौला, सह-सचिवमा भुपेन्द्रकुमार लामा र कोषाध्यक्षमा दिपकप्रसाद सापकोटा निर्विरोध चयन भएका छन्।

कार्यसमिती सदस्यहरुमा प्रकाश पौडेल, माधबप्रसाद खनाल, रेनुका कार्की, चन्द्रबहादुर भुजेल, बलराम दाहाल, अजयराज अधिकारी, भुपेन्द्र गौतम र श्रीकृष्ण तिमिल्सिना चयन भएका छन् । समितिको निवर्तमान अध्यक्षमा धर्मराज पन्थी छन् ।

यसअघि कार्यक्रमकाे उद्घाटन गर्द‌ै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।

भट्टले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरु आवश्यक रहने बताए । पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उनको भनाई छ ।

‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै पर्यटकीय राजधानी पनि हो । पोखरा पदयात्राको मूलद्वारका रुपमा लिइन्छ । नेपालको पर्यटन उद्योगको थालनी पर्वतारोहण र पदयात्राबाटै भएको हो ।’ उनले भने – ‘यस प्रदेशमा दर्जनौं विश्वपरिचित पदमार्ग छन् । प्रख्यात अन्नपूर्ण पदमार्ग, मनासलु ट्रेक लगायतका पदमार्गहरु हाम्रा सम्पति हुन् । जसलाई हामीले जोगाउनुपर्दछ ।’

पदयात्राको विकासले घरबास कार्यक्रमलाई सकारात्मक सहयोग पुगेको पनि उनको विश्वास छ ।

उनले पथप्रदर्शकले पर्यटकहरूलाई गन्तव्यमा पुर्‍याई प्राकृतिक सुन्दरता, मनमोहक वातावरण, ऐतिहासिक सम्पदा लगायतका महत्वका स्थानहरुको अवलोकन गराउन महत्वपूर्णं भूमिका खेलेको बताउँदै देशलाई विश्वमाझ चिनाउन नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोगीका रुपमा रहेको बताए ।

टानका निवर्तमान अध्यक्ष धर्मराज पन्थीले पर्यटन व्यवसायकाे वृद्धि, विकास र आर्थिक चलायमानको लागि निरन्तर लागि परिरहने प्रतिवद्वता जनाए । उनले  पर्यटन व्यवसाय उद्याेगहरुकाे पनि उद्योग भएकाे बताए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्