पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिन्दु धर्म संस्कृति सनातन देखिको संस्कार रहेको बताएका छन् ।
पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २९ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि उहाँले गुप्तेश्वर महादेव गुफा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य रहेको उल्लेख गरे ।
प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउँदै उहाँले गुफालाई सुरक्षित राख्नुपर्नेमा जोड दिए ।
‘यहाँको टड्कारो आवश्यकता र हाम्रो मुख्य दायित्व भनेको गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण नै हो ।’ उनले भने – ‘स्थानीयबासी, गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना, गुफाको संरक्षणसँगै आफ्नो पनि सुरक्षाका विषय सम्बोधन हुन सक्दछ भन्नेमा सचेत रहनुपर्दछ ।’
वर्षेनी लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक ५ करोड बढी आम्दानी हुने यस गुफाबाट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै जनसहभागिताबाट संचालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरिरहेको भन्दै प्रशांस गरे ।
‘गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु प्रशंसनीय काम हो ।’ – उनले भने ।