सहारा खेलकुद पुरस्कार परशुरामलाई, उत्कृष्ट सदस्य लीलबहादुर

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो । उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

२०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन् । नेपाल टेलिभिजन उत्कृष्ट संवाददाता पुरस्कार चारपल्टसम्म पाएका उनलाई भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार लगायत दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मान गरिएको छ । शर्मा लेखनाथ उपल्लो पुँडिटार निवासी हुन् ।

छनोट समिति सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्व अध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेनसदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी थिए ।

यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा क्लबमा २ कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गरेका छन् । सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य उनी आफ्नो काम सधैँ क्रियाशील भइ काम गर्छन्।

महासचिव अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य थिए ।

यही भदौ ३० गते सहारा क्लब स्थापनाको २६ औं वार्षिकोत्सव अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्