पोखरा क्लिक प्रा.लि. को आयोजनामा पोखरामा प्रथम पर्वतीय दौड हुने

सागर ढकाल
  • ख-
  • ख+

पोखरा । पोखरामा विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसरमा ‘प्रथम पर्वतीय खुल्ला दौड प्रतियोगिता–२०८१’ हुने भएको छ ।

पोखरा क्लिक प्रा•लि• ले आउँदो असोज १२ गते पोखरा महानगरपालिका–२२ मा प्रथम पर्वतीय दौड प्रतियोगिता गर्न लागेको हो । पोखरा २२ मा रहेका प्राकृतिक रुपमा सुन्दर ठाउँलाई खेल पर्यटनसँग जोड्ने उद्देश्यले दौड प्रतियोगिता आयोजना गरिएको पोखरा क्लिक प्रा•लि•का अध्यक्ष दीननाथ बरालले बताए।

८ किलोमिटर दौड प्रतियोगिता विश्व शान्ति स्तुपदेखि सुरु भएर पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ को वडा कार्यालय हुँदै नयाँ पर्यटकीय गन्तव्य बुद्ध पार्क पुगेर टुङ्गिने अध्यक्ष बरालले बताए। ।

प्रतियोगितामा खुल्ला रुपमा सहभागिता जनाउन पाउनेछन् । खुल्ला तर्फ विजेतालाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार प्रदान गरिने अध्यक्ष बरालले बताए ।

महिला र यू–१६ बालबालिका, पोखरा–२२ वडा मध्ये उत्कृष्ट १÷१ जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिने उनको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३९ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा हालसम्म पोखरा वडा २२ कार्यालय, पुम्दीकोट कोट विकास समिति, विश्व शान्ति स्तुप समिति, बुद्व पार्क समिति, पुम्दीकोट माउन्टेन लज, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, कास्की जिल्ला एथलेटिक्स संघ, पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्यासी अर्जुन पोखरेल प्यानल, सहारा क्लब पोखरा, अटोवेज प्रालि, ग्लेज ड्रिङकिङ वाटर, सिटिजन फर्निचर, बराल पार्टी प्यालेस, एस.के. साउण्ड, परिचय एड्भरटाइटिङ, राष्ट्रिय पोशाकघर, खेलकुदकर्मी विश्व तण्डुकार लगायतले सहयोग गरेका छन् ।

यो दौड प्रतियोगिताले पोखरा–२२ मा रहेका पर्यटकीय स्थलको विकास गर्न टेवा पुग्ने आयोजकको विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्