पोखरा । पोखरा झण्डा पार्क रहेको महेन्द्रपुलमा नेवारी संस्कृति झल्कने फल्चा निर्माण सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका र विभिन्न ब्याक्तिहरुको सहयोगमा पोखराको महेन्द्रपुलमा निर्माण सम्पन्न भएको नेवारी संस्कृति झल्काउने फल्चाको संविधान दिवसको अवसर पारी उद्घाटन गरिएको हो ।

महेन्द्रपुलको सार्वजनिक जग्गामा निर्माण भएको फल्चासंगै अत्याधुनिक शौचालय समेत विहिवारदेखि सञ्चालनमा आएको हो ।
फल्चा र झण्डापार्कमा रहेको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको महेन्द्रपुलमा रहेको सार्वजनिक जग्गाको सदुपयोग गर्दै झण्डापार्क, अत्याधुनिक शौचालय र फल्चा निर्माण गरिएको बताए ।
पुस्तकालय र आर्ट ग्यालरी भएको ठाउँ भत्कायो भन्ने कुरालाई भन्दापनि महानगरले मापदण्डको आधारमा महेन्द्रपुलमा रहेको ७ र ६ आना रहेको जग्गामा कुनैपनि संरचना बनाउन नहुने भएकाले पार्क र झण्डा पार्क बनाइएको र पछि सेती नदीमाथीको पुल बिस्तार गर्ने क्रममा खाली ठाउँ आवश्यक पर्ने भएकाले पनि यसलाई पार्ककै रुपमा राखिएको उनको बताए ।
प्रत्येक संविधान दिवस र प्रजातन्त्र दिवसको अवसर पारी झण्डा फेरिने र झण्डोत्तोलन गरिने समेत उनको भनाइ थियो

पोखराको भाषा, साहित्य र प्रकृतिको शहर भएकाले सांस्कृतिक धरोहरको रुपमा फल्चा निर्माण गरिएको र छिट्टैनै पोखराको पुरानो संस्कृतिक धरोहरको रुपमा रहेको रामकृष्णटोललाई समेत विश्व सम्पदा सुचीमा सुचिकृतका लागि काम गरिने मेयर आचार्यले बताए।
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सानो क्षेत्र भएपनि त्यसको सदुपयोग गरी एकातर्फ झण्डा पार्क र अर्को तर्फ सांस्कृतिक धरोहर झल्काउने फल्चासंगै अत्याधुुनिक शौचालय निर्माण गरिएको वताए । उनले ३३ वटै वडामा यस्ता संरचना निर्माण गर्न सके पर्यटकीय राजधानीले सार्थकता पाउने बताए ।

त्यस्तै पोखरा महानगरपालिकाका सल्लाहकार समितिका सदस्य आनन्दराज मुल्मीले पोखरालाई अन्तराष्ट्रिय शहरको रुपमा परिचित गराउनका लागि अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिदै पोखराका सम्पूर्ण राजनैतिक दलहरुले प्रदेश र संघीय सरकारलाई ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए ।
पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बानियाँले दुुर्गन्धित अवस्थामा रहेको महेन्द्रपुल किनारमा पार्क निर्माण गरी पर्यटकीय गन्तब्य निर्माणमा सहयोग गर्ने टोल बिकास संस्था, महिला समुह, संघ संस्थाहरु प्रति आभार प्रकट गर्दै पोखरालाई अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागी वडा र महानगरले चाहेर मात्र नहुने बताउदै सम्पूर्ण राजनैतिक दल, संघ संस्था मिलेर मात्र पोखरालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सकिने बताए।

पोखरा पर्यटकीय राजधानी घोषणा भएर अगाडी वढिरहँदा नेवारी संस्कृति झल्कने गरी फल्चा निर्माण भएर थप पर्यटकीय आकर्षण थपिएको उनले बताए ।
पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले पोखराको महेन्द्रपुलमा रहेको जीर्ण अवस्थामा रहेको भवनलाई हटाएर झण्डा पार्क, अत्याधुनिक शौचालय सहित नेवारी संस्कृति झल्किने फल्चा निर्माण सम्पन्न भइ नयाँ पर्यटकीय गन्तब्यको रुपमा स्थापित हुँदा आफूहरु निकै हर्षित भएको बताए ।

पोखरा महानगरको १७ लाख ६० हजार ४ सय ९०, समाजसेवी राम बहादुर पौडेल पोखरा ७ बाट ५१ हजार, राजकुमारी कायस्त पोखरा महेन्द्रपुलबाट २८ हजार ५ सय, पोखरा ८ का बिनोद जिसीबाट २५ हजार, जयप्रकाश प्रधानाङ्ग भैरवटोलबाट ११ हजार ५ सय, लक्ष्मी पहारी शान्तिवनबाट १० हजार १ सय १, साजन ताम्राकार नयाँबजारबाट १० हजार १ सय १, अविनास एण्ड अंकित फोटो फ्रेम गुड्स महेन्द्रपुलबाट १० हजार १ सय १ गरी कुल २२ लाख, ४८ हजार १८ रुपैयामा निर्माण सम्पन्न भएको हो ।










