पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) गण्डकीले दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।
अमेरिकी विकास सहयोग नियोग (युएसएड) को जलजंगल परियोजना (अमेरिकी जनता) को सहयोगमा टान गण्डकीले पोखरामा २ दिने सचेतना कार्यक्रम गरेको हो । जलजंगल परियोजना अन्तर्गत पदयात्रा तथा पर्वतीय पर्यटन गन्तव्यहरु पर्यटनको माध्यमबाट जैविक विविधता संरक्षणमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको टान गण्डकीले जनाएको छ ।
पोखरामा भएको कार्यक्रममा पदयात्रा क्षेत्रमा संलग्न पथप्रदर्शक तथा सहयोगीहरुलाई सचेतना प्रदान गरि पर्यटकको मनपनि जित्ने र पदमार्गमा रहेका जैविक विविधता संरक्षणका लागि भूमिका निर्वाह गर्ने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

सचेतना कार्यक्रममा सहभागीहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, टानका केन्द्रीय महासचिव सोनाम ग्याल्जेन शेर्पाले प्रमाणपत्र प्रदान गरेका थिए ।
पदमार्ग मासिदै जाँदा यो व्यवसाय जोखिममा परेको र पदमार्ग संरक्षणका लागि राज्यले नै ध्यान दिन जरुरी रहेको टानका केन्द्रीय महासचिव सोनम ग्याल्जेन शेर्पाले बताए ।

पथप्रदर्शकले आफूसँग गएका पर्यटकलाई जैविक विविधता संरक्षणका लागि आग्रह गर्ने र नटेरे सम्बन्धित ठाउँमा जानकारी गराउन भूमिका खेल्नसक्ने भएकाले सचेतना कार्यक्रम राखिएको टान केन्द्रका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पछिल्लो समय पर्यटन क्षेत्र पिडादायी अवस्थामा रहेको बताए ।यो क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउनका लागि पर्यटन नीति आवश्यक रहेको बस्यालले बताए ।

पिडादायी अवस्थामा पनि गण्डकीमा पर्यटनको अथाह सम्भावना छ । बस्यालले भने जसले चुनौति मोल्छ उसले सफलतापनि पाउँछ। उनले भने कोभिडका कारण अहिलेपनि पर्यटन क्षेत्र माथि उठ्न र विकास हुन नसकेको।यहि बेला पदमार्गमा पर्ने स्थानिय तहहरुले कर उठाउन थालेको प्रति असन्तुष्टि जनाए । पर्यटन क्षेत्रलाई अहिले कर लिने बेला नभएको बताउँदै उनले भने पर्यटन क्षेत्र पुरानै लयमा नफर्की कर लिनुहुँदैन। तोकिएको छ भनेपनि खारेज गर्नुपर्छ बस्यालले बताए ।
गण्डकीमा पदयात्राको राम्रो संभावना रहेकाले त्यसलाई उजागर गरी प्रयोगमा ल्याउन मन्त्रालय टानलाई सहयोग गर्न तयार रहेको उनले बताए ।

कार्यक्रममा टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा, पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरी भुजेल, टान गण्डकीका पूर्वअध्यक्ष तथा सल्लाहकार टिकाराम सापकोटा,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका बरिष्ठ अधिकृत कुन्दन मिश्र, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, टान गण्डकीका उपाध्यक्ष तीर्थराज सुवेदी लगायतले पदयात्रा तथा पर्वतीय पर्यटनमा दीगो पर्यटकीय अभ्यास हुनुपर्नेमा जोड दिएका थिए ।










