पोखरा । ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान ) गण्डकीले ‘भ्यू फेवा राउण्ड फेवा’ हाकिङ पदमार्गकाे सरसफाई गरेको छ।
‘भ्यू फेवा राउन्ड फेवा’ पदमार्गकाे दिगो प्रवर्द्धनको लागि टानले शनिवार सरसफाई कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

सरसफाई कार्यक्रमपश्चात पोखरा पर्यटन परिषदका वरिष्ठ उपाध्यक्ष हरि भुजेलले ‘भ्यू फेवा राउन्ड फेवा’ पदमार्ग तयार भएर अघि बढ्न नसक्दा पनि त्यसको स्तराेन्नति र साइट अफ भ्यू वृद्धि गर्नको लागि टान गण्डकीले आयोजना गरेको सरसफाई कार्यक्रमकाे सह्राना गरे ।
उनले टान गण्डकीले नयाँ प्रोडक्टको रूपमा पदमार्गलाई पहिल्याई प्रदेश र स्थानीय सरकार र पर्यटन व्यवसायी भएर पोखरामा पर्यटकहरूको लेन्थ अफ स्टे बढाउनको लागि अहम भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘भ्यू फेवा राउन्ड फेवा’ पदमार्गले पोखराको दक्षिणी भेगबाट अन्नपूर्ण हिमशृङ्खलाहरू एकदम राम्रोसँग देखिने सक्ने अवस्था सिर्जना गरेको भुजेलकाे भनाई छ ।

ट्रेकिङ क्षेत्रमा लागेका व्यवसायीहरूले पदमार्गको संरक्षण गरी व्यवसायसँग जाेड्ने कुरामा टान गण्डकी अगाडी बढिरहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
पदयात्रामा जान लागेका पर्यटकहरूलाई यस ठाउँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालकाे राम्रो दृश्य देखिने भएकाले एक दिन भए पनि पर्यटकहरूको लेन्थ अफ स्टे बढाउनको लागि यो पदमार्ग एकदम महत्वपूर्ण भएको उनकाे भनाई छ ।

गण्डकी प्रदेश सरकारले पोखरा पर्यटकीय राजधानी घोषणा गर्दा पदयात्राका नयाँ मार्गहरू र यस्ता प्रोडक्टहरु संरक्षण गरेर अगाडि बढाउनुपर्छ भन्ने कुरामा जाेड दिइएकाेले टानले त्यसलाई आत्मसात अध्यक्ष आचार्यकाे भनाई छ ।
पाेखरा २२ का अध्यक्ष हिमलाल बरालले ‘भ्यू फेवा राउण्ड फेवा’ सर्किट निर्माणदेखि लिएर हरेक काममा टान गण्डकीले साथ र समर्थन दिएको बताउँदै ‘भ्यू फेवा राउण्ड फेवा’ रुट सेवामा वडाले गर्नुपर्ने सहयाेग गर्न तयार रहेकाे जनाए ।

पोखरा पर्यटन परिषद् र पाेखरा वडा नंं. २२ काे सहकार्यमा भएकाे सरसफाइ कार्यक्रममा पर्यटन मन्त्रालय पोखरा, नेपाल पर्यटन बोर्ड पोखरा र पोखरा पर्यटनसित आवद्ध विभिन्न संघ-संस्थाहरु ( पोखरा पर्यटन परिषद्, हान, नाटा, नारा, ना, रेवान, मजदुर संघ), टुरिस्ट पुलिस पोखरा, स्थानिय क्लबहरु(ड्यामसाइड र पुल्चोक क्लब),लायन्स क्लबहरु(लायन्स क्लब अफ लेकसाइड र लायन्स क्लब अफ पोखरा गार्डेन) का प्रतिनिधि र स्थानिय आमा समुहहरु एवं तालपारी मार्गीका स्थानियहरु लगायतकाे सहभागिता थियाे ।










