छविलाल जाेशीलाई ५ दिन थुनामा राख्न कास्की अदालतकाे अनुमति 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा ।  सहकारीको रकम निजी कम्पनीमा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व डिआइजी छविलाल जाेशीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको  इजलासले ५ दिन म्याद थप गरि अनुसन्धान गर्न अनुमति दिएकाे हाे । यसअघि कास्की प्रहरीले १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेकाे थियाे ।

जाेशीलाई पोखरा महानगरपालिका वडा नं.४ नालाकोमुख स्थित संचालनमा रहेको सुर्य दर्शन बचत तथा ऋण सहाकारी संस्था लिमिटेडको सेयर, बचत तथा जगेडा लगायत विभिन्न कोषमा हुनुपर्ने रकम सहकारी ऐन, नियमावली र संस्थाको विधान विपरित हिनामिना एवं अपचलन गरी सहकारी संस्थाबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रा.लि. (Galaxy 4K TV) मा लगानी गरी सहकारी ऐन विपरित ठगि गरेकाे आराेप छ ।

काठमाण्डौ महानगरपालिका वडा नं. १ नक्साल घर भएका वर्ष ५९ का जोशी गोर्खा मिडिया नेटवर्क प्रा.लि.का  पूर्व संचालक हुन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्वन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।

आइतवार काठमाडौँबाट पक्राउ परेका जोशीलाई प्रहरीले आइतबार राति नै पोखरा ल्याएको थियो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्