
पोखरा । पदयात्री सुचना व्यवस्थापन प्रणाली (-Trekkers Information Management System, TIMS) को व्यवस्थापन र प्रवद्र्धनका लागि टे«किङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले नेपाल पर्यटन बोर्ड (एनटिवी)को ध्यानाकर्षण गराएको छ ।
टिम्सलाई संसोधन गरि १ अप्रिल, २०२३ बाट लागू गरि सञ्चालन भएता पनि यसको प्रभाबकारी ढंगबाट कार्यान्वर्यन हुन नसकेको प्रति टानले ध्यानकर्षण गराएको हो ।
बुधवार बोर्डको कार्यकारी निर्देशक दिपकराज जोशीलाई ध्यानकर्षणपत्र बुझाउँदै टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले टिम्सको महत्व र प्रभावकारी व्यवस्थापनका विषयहरु जानकारी गराए ।
अध्यक्ष आचार्यले चेकपोष्टको अभावमा पर्यटकहरुले टिम्स लिन छाडेको, टिम्स लिएर पदयात्रा गरेकाहरुले पनि बिच बाटोमा नै गाइड तथा सहयोगीहरुलाई फिर्ता गर्ने अवस्था सिर्जना भएकोले टिम्स पोखरा काउन्टर लगायत सम्पूर्ण चेकपोष्टहरु यथाशीघ्र संचालन गर्नुपर्ने ध्यानाकर्षण गराए ।
शुरुवाती चरणमा १०० प्रतिशत टिम्स काटेर पदयात्रा गरेको अवस्था रहेतापनि हाल मुश्किलले २० प्रतिशत मात्रै टिम्स काट्ने गरेको अवस्था भएकोले टिम्सको प्रभावकारी व्यवस्थापन हुन नसकेकोमा उनको गुनासो छ ।
टिम्स व्यवस्थापनमा नेपाल पर्यटन बोर्ड गण्डकीको भुमिका फितलो भएकोमा अध्यक्ष आचार्यले नेपाल पर्यटन बोर्ड गण्डकीलाई टिम्सको विषयमा भएका निर्णयहरुको परिपत्र गर्न सुझाए ।
टिम्सको कार्यान्वयका लागि एक्यापलाई पनि माथिल्लो निकायबाट नै FIT Permit issues नगराउन, पर्यटक प्रहरीहरुलाई टिम्सको विषयमा सहि सुचना र जानकारी प्रवाह गर्न र नेपालका सम्पूर्ण स्थानीय निकायहरुलाई टिम्सको नयाँ कार्यविधिको विषयमा जानकारी प्रवाह गर्नको लागी परिपत्र गरिनुपर्ने टान गण्डकीले अनरोध गरेको छ ।
यसैगरी चेकपोष्ट तथा कर्मचारी व्यवस्थापनतर्र्फ टिम्स चेकपोष्ट, टिम्स काउन्टर पोखरामा हाल सम्म कार्य गर्दै आइरहेका र बेतलवी विदामा बसेका कर्मचारीहरुबाट नै कर्मचारीको व्यवस्थापन गरिनुपर्ने, कर्मचारी व्यवस्थापनको प्रशासनिक खर्चको निकासा टान केन्द्रद्वारा नै गरिनुपर्ने माग टानको छ ।
टानले ध्यानकर्षणपत्रमा अनलाइन टिम्सको प्राविधिक समस्याहरु समेत अवगत गराएको छ । जसमा टिम्स कार्यान्वयनको नयाँ व्यवस्था अनुरुप सम्पूर्ण विवरणहरु नेपाल पर्यटन बोर्ड र टानको आधिकारिक वेबसाइडमा अपडेट गरिनुपर्ने,टिम्स जारी गर्दा डबलपेमेन्ट भएको अवस्थामा छिटो र सहज ढंगले सम्बन्धित कम्पनीमा रकम फिर्ता गरिनुपर्ने, टिम्स क्यार्नसलेसन र चेन्जका अप्सन राखिनु पर्ने, पदयात्रा कक्षेत्रको सेलेक्सन गर्दा Single Option भएकोमा Multiple Option हुनुपर्ने लगायतका रहेका छन् ।
टिम्सको प्रभावकारी कार्यान्वयन नहुदा विभिन्न गाउँपालिकाहरुले आफु खुसी राजस्व संकलन गर्दै आएको प्रति पनि टानले ध्यानकर्षण गराएको छ ।
टानले पर्वतीय पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायीमैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि विभिन्न निकायसँगको सहकार्यमा आवाज उठाउँदै आएको छ ।