
पोखरा । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) गण्डकीको टोलीले पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न लक्षित समूहसहित पदयात्रा गरेको छ ।
४५ औं विश्व पर्यटन दिवसको अवसरमा टान गण्डकीको टोलीले कास्कीको नयाँपुल मोहरिया, लप्सीकोट, भुकदेउराली, डाँडाकमेर, थामको डिल, हम्पाल, जलजला, मोहरेडाँडा,फलाटे, ताङले, सरौंसम्म पदयात्रा गरेको हो ।
पर्यटन दिवस मनाउने भन्दै तारे होटलका बन्द कोठामा लाखौं खर्चेर गरिने कार्यक्रम भन्दा सम्वन्धित ठाउँमा नै पुग्दा गन्तव्य प्रवर्द्धन तथा घरवास कार्यक्रम फलदायी हुने भएकोले टानले १३२ जना (आन्तरिक र बाह्य पर्यटक) को समूह लिएर पदयात्रा गरेको हो ।
पदयात्राले भुक देउराली र यहाँको पदमार्गको प्रवद्र्धन गर्न सहयोग पुग्नेटान गण्डकीको विश्वास छ ।
पदयात्रा पश्चात भएको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशका हरेक जिल्ला र गाउँहरू पर्यटनमैत्री भएकाले पर्यटनबाटै जनस्तर परिवर्तन गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।
पदयात्रामा प्रकृतिसँगको सामिप्यतामा वनस्पति, वन्यजन्तु, चराचुरुंगी, हिमाल, पहाड, ग्रामीण परिवेश रहन सहन संस्कृतिसँगै रमाउन सकिने र पर्वतको मोदी गाउँपालिका पदमार्ग र होमस्टे लागि उत्कृष्ट गन्तव्य हो ।
तर यसलाई घोरेपानी पुग्न उत्कृष्ट रुटको रूपमा विकास गर्न हो भने मोदी गाउँपालिकाको लागि मात्र होइन सिङ्गो पर्वत पर्यटन विकासमा फड्को मार्ने कुरा टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताए ।
गण्डकी प्रदेशले बढाएका कदमहरूमा नयाँ पदमार्गहरू एक्सप्लोर गर्ने कुराहरूमा टान गण्डकी हर हमेशा अगाडि बढ्ने उनको भनाई छ ।
उनले भने-‘पर्वत क्षेत्र गण्डकी प्रदेशको महत्वपूर्ण पाटो हो । र, पनि केही रूपमा कुस्मामा पर्यटन चलायमान भएपनि ग्रामीण पर्यटनमा पुरै रूपमा चलायमान नभएको र भुक जस्तो रमणीय ठाउँमा अझै पनि पर्यटनको आगमन नभएको कारणले टान गण्डकीलाई चिन्तित बनाएको छ ।’
टान गण्डकीले २० वटा डेस्टिनेसन मध्येमा भुमरकोट, माटेबाट मोरे डाँडासम्मको डेस्टिनेसनलाई सेटेलाइट डेस्टिनेसन गर्नुपर्छ भन्ने कुरामा राज्यको धेरै पैसा यो क्षेत्रमा लगानी भइसक्दा पनि पदमार्गी व्यवसायीहरूको कनेक्सन नभएको कारणले ओझलमा परेको आचार्यको भनाई छ ।
उनले बाटो एक्सप्लोर गरेर तीन दिने ट्रेक माटे हुँदै जलजला पुगेर मोरे हुँदै बाटो अवलोकन गर्ने म्याप निकाल्ने अनि बजारीकरण गर्ने र यो बाटोको रुट खोल्न टान गण्डकी अगाडी बढिरहेको बताए ।
पर्वतको मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले पर्यटनको पुरानो र अग्रणी संस्था टानले ग्रामीण पर्यटकीय क्षेत्रमा पर्यटन दिवस मनाउनुलाई यो क्षेत्रको व्यापक प्रचार भएको बताउँदै आगामी दिनमा गाउँपालिकाले पर्यटनमा सक्दो बढी लगानी गर्ने बताइन् ।
बर्षाको पानीले मोटर बाटो, पदमार्गमा क्षति पुग्दा पर्यटकलाई समस्या परेको र अवरुद्ध भएका बाटोहरुलाई मर्मत गरेर सञ्चालनमा ल्याइएको उनको भनाई छ ।
पर्वत जिल्ला मोदी गाउँपालिकामा रहेको भुक देउराली समुद्री सतहबाट १७३४ मिटर उचाइमा रहेको छ । गाउँमा गुरुङ समुदायको बसोबास छ । गुरुङ संस्कृति र उत्कृष्ट अतिथ्यताका कारण यहाँको होमस्टे निकै चर्चित छ ।
भुकदेउराली कास्कीको नयाँ पुलबाट साढे तीन घण्टाको पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ । यही पदमार्गबाट घोरेपानी पनि पुगिन्छ ।
एकैपटक यति धेरै पर्यटकहरू गाउँ भित्रिदा सबै गाउँ गाउँवासीहरू हर्षित र उत्साहित देखिएका थिए । पन्चेबाजा र फुलमाला लगाएर सबै पर्यटकहरूको स्वागत गरेका थिए । ग्रामीण क्षेत्रमा स्वागत र रमणीय वातावरण देख्दा विभिन्न देशबाट आइपुगेका पर्यटकहरू निकै खुसी देखिन्थे ।
टानको गन्तव्य प्रवद्र्धन तथा घरवास कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुवँर, विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरु, मोदी गाँउपालीका वडा नं १, २ र ३ का अध्यक्षहरु, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेल, पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बिप्लब पौडेल,आन्तरिक राजस्व कार्यालय पोखरा कर अधिकृत लक्ष्मी दुलाल, पर्यटकीय संघ संस्थाहरुका अध्यक्ष एवं प्रतिनिधिहरु, टान गण्डकीमा आवद्ध सदस्य कम्पनीका संचालक एवं प्रतिनिधिहरु, विभिन्न पर्यटन मजदुर संगठनका प्रतिनिधि स्थानीय बासिन्दाहरु र केयरमार्क हस्पिटल पोखरा लगायतको सहभागिता रहेको थियो ।
गत विहिवार र शुक्रवार गरी दुई दिन भएको कार्यक्रम गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, स्थानीय मोदी गाउँपालिका र पोखरा पर्यटन परिषदको सहकार्य तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा भएको थियो ।