
पोखरा । दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङ्ग्राको मूल्य यसपटक सस्तो भएको छ ।
च्याङ्ग्राको सङ्ख्या बढेको र विगतका वर्ष च्याङ्ग्राको मूल्य महँगो भइ बिक्री घटेको र घाटा परेपछि किसानहरुले खोरबाट च्याङ्ग्राको मूल्य प्रति गोटा ५ हजारसम्म घटाएका छन् ।
गत वर्ष खोरमै प्रतिगोटा ४० हजारभन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरिद गरेका ब्यापारी दोर्जे छेवाङ लामाले यसपटक ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताए ।
विभिन्न ठाउँअनुसार पाँचदेखि १० हजार कम मूल्यमा च्याङ्ग्रा खरिद भएकाले बिक्री गर्ने मूल्य पनि घटाएका हौँ। उनले भने ‘गत वर्ष काठमाडौं र पोखरामा प्रतिगोटा ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली ४५ हजारभन्दा कम हुन्छ ।’ गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेको बताए ।
मुस्ताङबाट दोर्जे ,छेवाङ सहित डोल्पाका चार जना व्यापारीले दसैँ बजार लक्षित गरी ५ हजार २ सयबढी च्याङ्ग्रा म्याग्दीतर्फ ओरालेका छन् । घटस्थापनाको दिनसम्म जोमसोमबाट मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङ्ग्राहरू दसैँमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।
म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत ठाउँबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङ पुगेर फर्किन थालेका हुन् । जडिबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैं तिहारमा हिमाली च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमख लालमणी अर्यालका अनुसार बुधबारसम्म सात हजार च्याङ्ग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणी अर्यालले यो वर्ष पनि गत वर्षमा झैँ ७ हजारको हाराहारीमा दशैंका लागि मुस्ताङि च्याङ्ग्रा झर्ने अनुमान गरेकाे बताए । ‘खोरेत, पिपिआर लगाएतका रोग विरुद्धको खोप लगाएको भनी स्थानीय पालिकाहरुले दिएको सिफारिस पत्रको आधारमा खसीको ज्वारो, झोक्राउने, खाना नखाने, छेरौटे लागेको लगायतका केही रोग लागे/नलागेको हेरेर मात्र पठाएका छौं ।’ उनलेे भने-‘मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिँडाएर ल्याएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ ।’
तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ७० हजार ३ सय च्याङ्ग्रा पालिएका छन् ।
उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङ्ग्रापालन भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका कृषक डिण्डुप गुरुङले बताए ।
२०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ ।