१६६ वर्ष अघि स्थापित चण्डीमाई मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । पोखराको नयाँ बजारमा वि.सं.१९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ ।

तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय संग्रहालय र ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैंचाको बोट मुनी पुर्खाहरूले चण्डीमाई मन्दिरको स्थापना गर्नुभएको स्थानीय समाजसेवी एवम् चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले जानकारी दिए ।

तत्कालीन समयमा स्थापना भएको मन्दिर तीन पटकसम्म स्थानान्तरण भएको जानकारी दिदै उनले स्थापनाको केही समयपछि नयाँबजारकै हाल अख्तियारको कार्यालय रहेको स्थान हुदै अहिलेको दरबारथोकस्थित चोकमा ल्याइएको बताए ।

मन्दिरमा रहेको शिलालेख अनुुसार वि.सं. १९१५ सालमा स्थापना गरिएको र वि.सं. २०२५ सालमा जि.मु.जीतबहादुर भुजेलको सक्रियतामा निर्माण गरिएको उल्लेख छ । उक्त मन्दिर जीर्ण भई नयाँ निर्माणका लागि २०५३ मा समाजसेवी बुद्धिबहादुर खवासबाट शिलान्यास गरी २०५४ सालमा अध्यक्ष तेजबहादुर भुजेल(मगर) बाट चण्डीमाई देवीको मूर्ति स्थापना गरिएको र तत्कालीन वडा अध्यक्ष विष्णुप्रसाद बास्तोलाले उद्घाटन गर्नुभएको जनाइएको छ ।

“वरपरको वस्ती, तत्कालीन आवश्यकता आदिका आधारमा मन्दिर स्थानान्तरण भएको हुनसक्छ”, उनले भने, “पोखराको पुरानो मन्दिर भएर पनि यसको प्रवद्र्धन हुन नसक्दा चर्चामा आउन सकेको छैन ।”

श्रद्धाभक्तपूर्व दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासका कारण आसपासका स्थानबाट भक्तजनहरू पूजाआजाका लागि आउने गरेको उहाँले जानकारी दिए । मन्दिरको ऐतिहासिकतालाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यहाँको विकास गर्ने दीर्घकालीन सोच रहेको उनले  बताए ।

मन्दिरमा स्थापनाकालीन शिलाको मूर्ति हालसम्म पनि रहेको जानकारी दिदै उनले प्रत्येक वर्षको बैशाख १ गतेका दिन सामुहिक कल्याणको कामना गर्दै बोकाको बलि सहित चण्डी देवीको पूजाआजा गर्ने गरिएको बताए ।

स्थानीयवासीको साथ सहयोगका साथै समितिको सकृयतामा मन्दिरको पूजाआजालाई व्यवस्थित गरिएको छ भने नियमित पूजाआजाका लागि पुजारी व्यवस्था गरिएको छ । मन्दिरमा २८३ जना आजीवन सदस्य रहेका छन् भने चार जना मानार्थ सदस्य छन् ।

मन्दिर परिसरमा भवन लगायत पूर्वाधार निर्माणका लागि वडा कार्यालयका तर्फबाट पटक पटक गरी २९ लाख, १५ लाख हुँदै यस आर्थिक वर्षमा १० लाख रुपैया सहयोग प्राप्त भएको अध्यक्ष भुजेलले जानकारी दिए । यहाँ परिसरमा निर्मित भवन यहाँका विभिन्न सामाजिक कार्यमा बहुउपयोगी बनेको छ ।

सामाजिक सचेतना र जागरणको केन्द्र बन्दै

चण्डीमाई मन्दिर यस क्षेत्रका स्थानीयको जागरणको केन्द्र बनेको छ । मन्दिरकै नाममा गठित चण्डिका आमा समूह यहाँको समाजिक जागरणमा सक्रिय बनिरहेको समूहका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष विमला रानाभाटले जानकारी दिए । समूहमा यस क्षेत्रका ७५ जना महिलाहरू आवद्ध भएको जानकारी दिदै उहाँले यस मन्दिरको संरक्षण र विकासमा संस्था सक्रिय बनिरहेको बताए ।

“पुरानो इतिहास बोकेर पनि यहाँकोे राम्रोसँग प्रचारप्रसार हुन सकेको छैन”, उनले भने, “हामी यसको प्रचारप्रसार समेत होस् भन्ने उद्देश्यका साथ केही वर्ष यता प्रत्येक नवदुर्गाका अवसरमा नवदुर्गा महोत्सव गर्दै आएका छौं ।” महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइएको उहाँले जानकारी दिए ।

महोत्सवका अवसरमा संकलन हुने गरेको सहयोगले पूजाआजा सञ्चालनमा सहयोग पुगेको बताउँदै उनले इतिहास र संस्कृतिको जगेर्नाका माध्यमबाट यस स्थललाई धार्मिक गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको बताए । मन्दिर परिसरमा निर्मित भवनमा यहाँको टोल विकास संस्थाको कार्यालय सञ्चालनका साथै योगा हल आदिले सामाजिक कार्यमा महत्वपूर्ण सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।

मन्दिरको प्रवद्र्धनकै उद्देश्यका साथ २०६९ सालदेखि निरन्तर रुपमा नवदुर्गा महोत्सव गरिदै आइएको प्रचारप्रसार संयोजक कृष्ण रानाभाटले जानकारी दिए । महोत्सवले मन्दिरको ऐतिहासिकतासँगै धार्मिक महत्वलाई उजागर गर्ने विश्वास लिइएको उनले बताए ।

ऐतिहासिकतालाई उजागर गर्दै यहाँको धार्मिक महत्वलाई प्रचारप्रसार गरेमा यो स्थल यस क्षेत्रको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्ने विश्वास लिइएको उनको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्