पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई समातेर बुझाइदिन भन्दै सीआईबीलाई पत्र पठाएको छ ।
त्योसँगै सीआईबीबाट एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली रास्वपाको पार्टी कार्यालयमा जाने तयारी गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।
सहकारीबाट रकम रविले ल्याएको नभए पनि कम्पनीमा आएपछि खर्च गरेकोमा उनलाई दोषी ठहर्याइएको छ ।
आज कास्की प्रहरी प्रमुख रविलाई पक्राउ पूर्जि लिन जिल्ला अदालत कास्कीमा आफैं उपस्थित भएका थिए ।
अदालतमा उपलब्ध एक मात्र न्यायाधीस कृष्णजंग शाहले पक्राउका लागि अनुमति दिएका हुन् ।
सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पुर्जी लिएको हो ।
यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् । उनैको बयानका आधारमा लामिछानेलाई पक्राउ गर्न लागिएको हो ।










